सार्वजनिक संस्थानमा ७ खर्ब लगानी, १५ वटा घाटामा

Image

सरकारले सार्वजनिक संस्थानमा गरेको लगानीले अपेक्षित प्रतिफल नदिएको जनाएको छ । अर्थ मन्त्रालयले बिहीबार सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा’ अनुसार ४३ संस्थानमध्ये २८ नाफामा र १५ घाटामा छन् । नाफामा रहेका संस्थानको प्रतिफल पनि घटेको छ ।

संस्थानमा सरकारको लगानी ७ खर्ब ३ अर्ब पुगेको छ । तर, नाफामा रहेका संस्थानको खुद नाफा ४२ अर्ब ६२ करोड रुपैयाँ मात्र छ, जुन गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा ११.५ प्रतिशतले घटेको छ ।

यसले सरकारी लगानीको प्रभावकारितामाथि प्रश्न उठाएको छ । घाटामा रहेका १५ संस्थानको घाटा ३ अर्ब ६३ करोड रुपैयाँ छ, जुन अघिल्लो वर्षको तुलनामा ८ प्रतिशतले बढेको छ । सरकारले संस्थानमा ५.८ प्रतिशतले लगानी थपेको छ । सार्वजनिक संस्थानको सम्पत्ति २९ खर्ब १० अर्ब पुगेको छ ।