राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को जहाजले मलेसियाको क्वालालम्पुरबाट भैरहवाको उडान भर्ने भएको छ ।
नेपाल एयरलाइन्सको जहाजले पहिलोपटक क्वालालम्पुरबाट भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडान भर्न लागेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले निगमको जहाज क्वालालम्पुरबाट उडेर भैरहवामा ल्याण्ड हुने जानकारी दिएका छन् ।
निगमको जहाज मंगलबार बिहान ७:४० बजे भैरहवामा ल्याण्ड हुने मन्त्री किराँतीले जानकारी दिएका छन् । मन्त्री किराँतीले निगमको पहिलो क्वालालम्पुर–भैरहवा उडानका यात्रुलाई स्वागत गर्न आफै विमानस्थल जान लागेको जानकारी दिएका छन् । कार्यक्रम तयारीका लागि आइतबारै निगमका उपनिर्देशक सन्तोष पाण्डेसहितको टोली भैरहवा पुगिसकेको छ ।
मलेसियाबाट भैरहवाको उडान समय ४:४५ मिनेट हाराहारी रहनेछ । भैरहवामा यात्रु ओरालेर निगमको जहाज त्यहाँबाट काठमाडौं आउने छ । न्यारोबडी विमानका लागि भैरहवाबाट काठमाडौं उडान समय २५ मिनेट हाराहारी लाग्छ ।