नेपाल कृषि उपज आलु प्याज आयात निर्यात तथा थोक विक्रेता संघले आलु प्याजमा भ्याट लगाउनु अनुचित, अनावश्यक र अन्यायपूर्ण रहेको जनाएको छ ।
संघले सोमबार पत्रकार सम्मेलनमार्फत यो निर्णय सच्याउन आग्रह पनि गरेको छ । ‘आलु तथा प्याजको कारोवारमा भ्याट आकर्षित गर्नु अनुचित, अव्यवहारिक, अनावश्यक, अन्यायपूर्ण तथा महंगीलाई मलजल गर्ने किसिमको छ,’ पत्रकार सम्मेलनमा बोल्दै संघका महासचिव प्रकाश गजुरेलले भने, ‘यसर्थ आर्थिक ऐन, २०८० बमोजिम आलु तथा प्याजमा भ्याट आकर्षित गर्ने उपभोक्ता हितविरोधी काम नगर्न तथा नगराउन सम्बन्धित निकायलाई आग्रह गर्दछौं ।’
भ्याटले नेपाली भान्छा महँगो हुने पनि जनाएको छ । ‘आलु प्याज भनेको नेपाली भान्छामा अत्यावश्यक वस्तु तथा आधारभूत कृषि उत्पादनसमेत हुन् । आलु प्याजको कारोबारमा भ्याट आकर्षित भएमा यी कृषिजन्य वस्तुको मूल्य बढ्नेछ,’ संघले भनेको छ, ‘देशमा विभिन्न कारणले महंगी बढिरहेको समयमा आलु प्याज जस्ता अत्यावश्यक कृषिजन्य वस्तुमा भ्याट लगाउनु भनेको सामान्य व्यक्तिलाई जीवन निर्वाह गर्न अझै कठिन बनाउनु हो ।’
दिनहुँ भान्सामा प्रयोग गरिने अत्यावश्यक वस्तु आलु प्याजको कारोबारमा भ्याट लगाउनु उपयुक्त नभएको संघको भनाइ छ ।
संघले आम सर्वसाधारणको भान्सा दिनानुदिन महंगो बन्दै गइरहेको परिवेशमा यस्ता वस्तुमा कर थप्ने सरकारको प्रावधानले फलफुल तथा तरकारी महंगिने र त्यसको प्रत्यक्ष मारमा उपभोक्ता पर्ने र व्यवसाय पनि संकुचित हुने बताएको छ । १३ प्रतिशत भ्याट लगाउँदा आलु प्याज एक तिहाईले महंगिने अनुमान संघको छ । जसको कारण व्यवसायी हतोत्साहित भएको र उपभोक्तामा चिन्ता थपिएको उनीहरूको दाबी छ ।