आकर्षक रोजगारीको झुटो आश्वासनमा फसाइ भारतको उत्तराखण्डस्थित काशिपुरमा बन्धक बनाइएका ३५ जना नेपाली युवाहरूको सफल उद्धार गरिएको छ।
नेपाली राजदूतावास, नयाँ दिल्लीका अनुसार पीडितहरूलाई विभिन्न जिल्लाबाट झुक्याएर भारत पुर्याइ बन्धक बनाइएकै अवस्थामा कुटपिट, यातना र आर्थिक शोषण गरिएको थियो।
परराष्ट्र मन्त्रालयको निर्देशनमा नेपाली राजदूतावास नयाँ दिल्ली, उत्तराखण्ड प्रहरी तथा सामाजिक संस्था किन् इन्डिया को सहकार्यमा नेपालीहरूको उद्धार गरिएको हो।
दूतावासले दिएको जानकारी अनुसार, भारतीय उत्तराखण्ड राज्यको विभिन्न वनक्षेत्रमा युवाहरूलाई राखिएको थियो। केही नेपाली युवाहरू अझै पनि हराइरहेका छन् र खोजी कार्य जारी रहेको छ। उद्धार गरिएका व्यक्तिहरूको कानुनी प्रक्रिया पूरा भएपछि उनीहरूलाई नेपाल पठाउने तयारी भइरहेको छ।
दूतावासले यस्ता घटनाबाट सतर्क रहन र आकर्षक रोजगारीको लोभमा परराष्ट्रमा यात्रा नगर्न अनुरोध समेत गरेको छ।














