आईएमई ग्रुपले रौतहटमा सञ्चालनमा ल्यायो नेपालकै पहिलो फाइबर सिमेन्ट बोर्ड उद्योग

Image

आईएमई ग्रुपको मुख्य लगानीमा एभरेस्ट फाइबर सिमेन्ट बोर्ड उद्योग सञ्चालनमा आएको छ। डेढ अर्ब रुपैयाँ लागतमा रौतहटमा उद्योग खुलेको हो। नेपालमै पहिलोपटक फाइबर सिमेन्ट बोर्ड उत्पादन सुरु भएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममकाबीच उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले यसको उद्घाटन गरेका छन् ।

वित्तीय क्षेत्रबाट व्यवसायिक यात्रा सुरु गरेको आईएमई ग्रुपले पछिल्ला वर्षहरूमा पर्यटनसँगै उत्पादनमूलक क्षेत्रमा पनि तीव्र रूपमा लगानी विस्तार गरिरहेको छ। विशेष गरी वित्तीय, पर्यटन, अटोमोबाइल, सूचना प्रविधि र ऊर्जा क्षेत्रमा संलग्न आईएमई ग्रुपले कागज कारखाना समेत सञ्चालन गरेको छ।
नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज प्रालिले सञ्चालनमा ल्याएको कागज कारखानामा आईएमई ग्रुपको २ अर्ब बढी लगानी छ। २०८१ फागुनमा कागज उद्योग उद्घाटन गरेको ग्रुपले त्यसको ४ महिनामै अर्को उत्पादनमूलक सिमेन्ट बोर्डको उद्योग खोलेको हो।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्ला वर्षहरूमा आफ्ना व्यवसायहरूलाई आक्रामक ढंगले विविधिकरण गर्दै विस्तार गरिरहेका छन्। एभरेस्ट फाइबर सिमेन्ट बोर्डको अध्यक्षमा चन्द्र ढकालका छोरा निशान ढकाल छन्। उद्योगको प्रबन्धनिर्देशकमा प्रदीप पण्डित र कम्पनी निर्देशकमा टासी वाङ्ग्याल लामा छन्।

फाइबर सिमेन्ट बोर्ड जलरोधक, आगोरोधक, वातावरणमैत्री र दीर्घकालीन टिकाउ विशेषतायुक्त निर्माण सामग्री हो। यो जिप्सन बोर्डको सशक्त विकल्पका रूपमा लिइन्छ। जिप्सन बोर्ड पुनः प्रयोग गर्न नसकिने भएपनि फाइबर सिमेन्ट बोर्ड पुनः प्रयोगयोग्य हुन्छ, जुन निर्माण लागत घटाउन र दीर्घ टिकाउ बनाउने दृष्टिले उपयोगी ठहरिन्छ।

एभरेस्ट फाइबर सिमेन्ट बोर्ड उद्योगले ४ एमएमदेखि ५० एमएमसम्म मोटाइ भएका बोर्डहरू उत्पादन गर्नेछ, जसको प्रयोग विभिन्न बहुआयामिक निर्माण कार्यमा गर्न सकिन्छ। दैनिक ३ हजार ५ सय बढी बोर्ड उत्पादन हुने जनाइएको छ । यस्ता बोर्डहरू प्रिफ्याब हाउसिङ निर्माणमा विशेष उपयोगी हुनेछन् भने फलसिलिङ, पार्टेसन, फ्रन्ट डिजाइन, फ्लोर वर्क्स जस्ता आन्तरिक संरचनात्मक कामहरूमा पनि अत्यन्त उपयुक्त मानिन्छन्। अफिस वा अपार्टमेन्टजस्ता भौतिक संरचनाहरूको इन्टेरियर र एक्स्टेरियर डिजाइनमा समेत यसको प्रयोग प्रभावकारी हुनेछ।

साथै, हाइराइज भवनहरूमा भार घटाउन हलुका सामग्रीको आवश्यकता पर्छ, जसका लागि फाइबर सिमेन्ट बोर्ड आदर्श मानिन्छ। सिमेन्ट र फाइबरको संयोजनबाट बनेको बोर्ड हलुका हुनुका साथै जलरोधक र टिकाउ भएकाले भूकम्पको जोखिम भएका क्षेत्रमा यसको प्रयोग गर्दा ज्यानको जोखिम कम हुने वताइएको छ ।

हाल नेपालमा भारत, थाइल्यान्डलगायत देशबाट आयात गरिने सिमेन्ट र जिप्सन बोर्डलाई प्रतिस्थापन गर्ने मुख्य उद्देश्यसहित उद्योग स्थापना गरिएको हो। साथै, यस उद्योगले नेपालमै कच्चा पदार्थ उत्पादन गर्ने योजना बनाएको छ, जसले प्रिफ्याब उद्योगहरूलाई आत्मनिर्भर बनाउनेछ भने बाहिर निर्यात गर्ने तयारीसमेत गरिएको छ ।