जिल्ला अदालत, काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण र टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ ।
न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले दुई साता लामो थुनछेक बहसपछि लक्ष्मी महर्जनसहित दुई जनालाई भने धरौटीमा छाड्ने आदेश गरेको छ । होटल व्यवसायी टंक गुरुङ १० लाख र ललितपुरकी लक्ष्मी महर्जन भने ५ लाख धरौटीमा रिहा हुने भएका छन् ।
ललितपुरको बुंगमती बस्ने ३२ वर्षीया लक्ष्मी हरिभक्त महर्जनकी श्रीमती हुन् । यस प्रकरणमा पक्राउ परेका सन्देश शर्माले रकम जम्मा गराउनको लागि महर्जनको खाता प्रयोग गरेका थिए । २०७९ जेठ १८ पहिलो पटक जाहेरी दिएका गजेन्द्र बुढाथोकीलाई सन्देश शर्माले पैसा लक्ष्मी महर्जनको खातामा जम्मा गरेका थिए । शर्माले लक्ष्मीको खाता नम्बर पठाएअनुसार बुढाथोकीले लाखौँ रुपैयाँ जम्मा गरेको अनुसन्धानबाट खुलेसँगै उनी पक्राउ परेकी थिइन ।
त्यस्तै धरौटीमा छुटेका गुरुङ होटल व्यवसायी हुन् । पाँचथरका गुरुङलाई नक्कली शरणार्थी प्रकरणका नाइकेको सहयोगीको रुपमा सक्रिय रहेको अभियोग छ ।
गुरुङलाई सक्कली प्रतिवेदनका ठाउँमा नक्कली प्रतिवेदन राखी भुटानी शरणार्थीका नाममा लिखित किर्ते सगंठित अपराध र ठगी गरी अकुत सम्पती आर्जन गरेको र नक्कली प्रतिवेदन तथा भुटानी शरणार्थीको नक्कली परिचय पत्र बनाई लिखित किर्ते गरेको अभियोग लगाइएको थियो ।













