एमाले विधान महाधिवेशन : स्वयंसेवक परिचालनको जिम्मा भानुभक्त ढकाललाई

Image

नेकपा (एमाले)ले आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने दोस्रो विधान महाधिवेशनको तयारी तीव्र बनाएको छ। महाधिवेशन सफल बनाउन पार्टीले व्यवस्थापनका विभिन्न पक्षमा नेताहरूलाई जिम्मेवारी बाँडफाँड गरेको छ।

महासचिव शंकर पोखरेलको अध्यक्षतामा बुधबार बसेको बैठकले महाधिवेशन व्यवस्थापनको जिम्मेवारी तोकेको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए।

उनका अनुसार महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको संख्या यकिन गर्न संगठन विभागलाई जिम्मेवारी दिइएको छ। १०औं महाधिवेशनका प्रतिनिधिमध्ये को–कोको निधन भयो, कति जनाले पार्टी परित्याग गरे भन्ने विवरण संकलनको काम सोही विभागले गर्नेछ।

स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख कृष्णगोपाल श्रेष्ठलाई स्वास्थ्य व्यवस्थापनको जिम्मा दिइएको छ भने स्वयंसेवक परिचालनको जिम्मा जनसंगठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकाललाई दिइएको छ। सचिवालय तथा खानपान व्यवस्थापनको जिम्मेवारी डा. भीष्म अधिकारीले लिएका छन्।

महाधिवेशनको प्रचार–प्रसारको जिम्मा प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमलाई दिइएको छ। स्वागत नृत्यसहित विविध सांस्कृतिक कार्यक्रमको संयोजन केन्द्रीय सदस्य हेमराज राईले गर्नेछन् भने यातायात तथा मञ्च व्यवस्थापन केन्द्रीय सदस्य विनोद श्रेष्ठले सम्हाल्नेछन्।

प्रतिनिधिहरुले आफ्नै खर्चमा आवास व्यवस्थापन गर्नुपर्नेछ। यदी कुनै प्रतिनिधिले त्यसो गर्न नसकेको खण्डमा सम्बन्धित जिल्ला वा प्रदेशको सम्पर्क समन्वय समितिले व्यवस्था मिलाउनेछ। यसका लागि लालबाबु पण्डितलाई जिम्मा दिइएको छ।

महाधिवेशनमा २,२७९ जना प्रतिनिधिहरु सहभागी हुने तय गरिएको छ। विधान संशोधन तथा संगठन सुदृढीकरणका उद्देश्यसहित हुने उक्त महाधिवेशनलाई पार्टीले विशेष महत्वका साथ लिएको छ।