आज साउन महिनाको अन्तिम सोमबार काठमाडौँको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरूमा बिहानैदेखि भक्तजनको घुँइचो लागेको छ।
पशुपतिनाथ दर्शनको लागि हजारौँ भक्तजन उज्यालो नहुँदै पशुपति क्षेत्रमा पुगेका छन्। आज बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
यस वर्ष साउनमा चार वटा सोमबार परेका छन्। आज चौथा सोमबार विगतका तीन सोमबार भन्दा पशुपतिमा भक्तजनको बढी घुइँचो देखिन्छ। यस वर्ष साउन ५, १२, १९ र २६ गते सोमबार परेको छ।
हिन्दु धर्मालम्बीले साउनको सोमबार उपवास बसी भगवान् शिव र पार्वतीको पूजाआराधना गर्ने परम्परा छ। साउने सोमबार विधिपूर्वक शिवको आराधना गर्दा परिवारमा सुख शान्ति र समृद्धि आउने विश्वास छ।
आज काठमाडौँ उपत्यकाका अन्य शिवालयहरूमा पनि भक्तजनको भिड लागेको छ। राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर, पूर्वी भेगस्थित पेप्सीकोलाको नागेश्वर मन्दिर, वसन्तपुरस्थित सानो पशुपतिनाथ मन्दिरलगायतका शिवालयमा पनि भक्तजनको भिड लागेको छ।
त्यसैगरि देशका विभिन्न स्थानमा रहेका अन्य शिव मन्दिरहरुमा पनि आज भक्तजनको भिड छ।














