काठमाडौं जिल्ला अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका चार जनालाई सात दिन हिरासतमा राख्न अनुमति दिएको छ। बुधबार जिल्ला अदालतमा प्रहरीले उनीहरुलाई म्याद थपका लागि लगेको थियो ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश वासुदेव पौडेलले सरकारी लिखत किर्ते मुद्दामा अनुसन्धान गर्न अरोपितहरुलाई हिरासतमा राख्न केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुमति दिएका हुन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले मंगलबार ललितानिवास जग्गा प्रकरणमा भाटभटेनीका मालिक मीनबहादुर गुरुङ, तत्कालीन मालपोत अधिकृत धर्मप्रसाद गौतम, मालपोत कर्मचारी गोपाल कार्की र भक्तपुर मालपोतका तत्कालीन हाकिम सुधीर शाहलाई पक्राउ गरेको थियो ।
बुधबार सीआईबीले पत्रकार सम्मेलन गरी सो प्रकरणमा हदम्याद नलाग्ने स्पष्ट पारेको छ ।












