नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

Image


नबिल बैंकले ५ अर्ब रुपैयाँबराबरको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ बाँडफाँट गरेको छ । प्रतिकित्ता १०० रुपैयाँ अंकित ५ करोड कित्ता अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट सम्पन्न भएको बैंकले जनाएको छ ।

नेपाल धितोपत्र बोर्डको स्वीकृतिपछि बैंकले १ पुसमा अग्राधिकार शेयरको अन्तिम बाँडफाट गरेको हो । संस्थागत लगानीकर्ताहरूलाई परिपत्र विधि (व्यक्तिगत तवर) बाट प्रस्ताव आह्वान गरी प्राप्त आवेदनबमोजिम अग्राधिकार शेयर बाँडफाँट गरिएको हो ।

नेपाल राष्ट्र बैंक तथा नेपाल धितोपत्र बोर्डले अविमोच्य असञ्चिति अग्राधिकार शेयरसम्बन्धी नीतिगत व्यवस्था गरेपश्चात् यस किसिमको अग्राधिकार शेयर जारी गर्ने स्वीकृति नेपाल धितोपत्र बोर्डबाट पहिलोपटक नबिल बैंकले प्राप्त गरेको हो ।

अविमोच्य असञ्चिति अग्राधिकार शेयर निश्चित भुक्तानी अवधि नतोकिएको तर बैंकले वितरणयोग्य मुनाफा आर्जन गरेको वर्षमा निश्चित लाभांश पाउने विशेषता भएको पुँजी बजार उपकरण हो ।

यस उपकरण जारी गरेपश्चात् अतिरिक्त प्राथमिक पुँजीका माध्यमबाट पुँजीगत आधार बलियो भई बैंकको जोखिम भार क्षमता बढ्ने र व्यवसाय विस्तारमा थप सहयोग पुग्ने विश्वास लिइएको छ ।
नबिल बैंकले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिका २६८ शाखा र ३२१ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।