चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का पोलिटब्युरो सदस्य युआन च्या च्युन काठमाडौं आइपुगेका छन् । श्रीलंका भ्रमण सकेर उनी काठमाडौं आएका हुन् । च्युन तीन दिने नेपाल भ्रमण क्रममा आइतबार काठमाडौं आइपुगेका छन् । गत पुस १० मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि यो चीनबाट हुन लागेको उच्चस्तरको भ्रमण हो । युआन चीनको चर्चित, ठूलो र शक्तिशाली सहरहरु मध्येको एक छोङछिङ सहरको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आएका हुन् ।
तीन दिन काठमाडौं रहँदा उनले नेपालका शीर्ष नेताहरुसँग भेटवार्ता गर्नेछन् । यद्यपि प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भने भेटवार्ता हुनेछैन । शनिबार नै प्रधानमन्त्री प्रचण्ड इटाली प्रस्थान गरिसकेका छन् । तर युआनको यो भ्रमणमा प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणबारे समेत छलफल हुने तयारी रहेको जनाइएको छ । युआनको भ्रमणको बारेमा प्रधानमन्त्री दाहाललाई दुई साता अघि नै जानकारी दिइएको थियो । तर प्रधानमन्त्री दाहालले त्यो बीचमा इटालीको भ्रमण गर्ने निर्णय गरे ।