एक क्विन्टल सुन तस्करी प्रकरण : भन्सार अधिकृतसहित ६ जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँच पास भएको एक क्विन्टल सुन बरामद प्रकरणमा ३ जना भन्सार कर्मचारी र ३ जना भन्सार एजेन्ट पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागको विशेष टोलीले आइतबार उनीहरूलाई पक्राउ गरिएको हो । योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १६ जना पुगेको छ ।

आइतबार पक्राउ पर्नेमा भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवम् जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ रहेका छन् । यस्तै सुन भन्सार पास गराउन संलग्न रहेको आरोपमा भन्सार एजेन्ट यादवशंकर पराजुली, सुदर्शन गौतम र रुकमिना सुब्बालाई पनि पक्राउ परेका छन् ।
यसअघि पक्राउ पर्नेमा ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्र राई, कम्पनीका सञ्चालक भोजपुरका दिलिप भुजेल, उनका मामा दोलखाका रामकुमार भुजेल, भोजपुरका हर्कराज राई, तिब्बती मुलका भारतीय नागरिक थाप्तेन छिरिङ, चिनियाँ नागरिक जिक्वाङ लिङ, ठेगाना नखुलेको, कोटेश्वरबाट पक्राउ पर्ने राजन र कृष्ण श्रेष्ठ र ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक पुष्करराज भट्ट रहेका छन् ।

मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याएको सुन गत मंगलब।र भन्सार जाँच पास गरेर अपराह्न २ बजे कटेको सूचना पाएपछि राजश्व अनुसन्धान विभागले गरेको कारबाहीको क्रममा बरामद भएको थियो । बरामद सुन मंगलबारको क्याथे फ्यासिफिकको उडानमार्फत काठमाडौं आएको थियो ।