व्यापारी रामहरि श्रेष्ठ हत्या प्रकरण : गोविन्दबहादुर बटालालाई १० वर्ष कैद सजाय

Image

सर्वोच्च अदालतले कोटेश्वरका व्यापारी रामहरी श्रेष्ठको हत्यामा संलग्न भएको आरोप लागेका गोविन्दबहादुर बटालालाई १० वर्षको कैद सजाय तोकेको छ ।

न्यायाधीशहरू डा. नहकुल सुवेदी, अव्दुल अजीज मुसलमान र शान्तिसिंह थापाको इजलासले यसअघि सर्वोच्चकै फैसला उल्ट्याउँदै बटालालाई १० वर्षको कैद सजाय सुनाएको हो ।

सर्वोच्च अदालतको संयुक्त इजलासले बटालालाई ३ वर्षमात्रै कैद सजाय तोकेको थियो । पुनरावलोकनका क्रममा त्यो फैसला उल्टिएर १० वर्ष कैद सजाय तोकिएको हो ।

कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको घरमा ‘जनमुक्ति सेना’ तेस्रो डिभिजनको सम्पर्क कार्यालय भाडामा राखिएको थियो । कार्यालयबाट २०६४ चैत १४ मा १७ लाख नगदसहित हतियार चोरी भएको बताइएको थियो । सामान हराएको भन्दै छानबिनका लागि तेस्रो डिभिजन कार्यालयले गोविन्दबहादुर बटालालाई खटाएको थियो । उनी २०६५ वैशाख ७ मा काठमाडौं आई रामहरि श्रेष्ठ, केशव अधिकारी, गंगाराम थापालाई सोधपुछ गरी फर्केका थिए ।

‘जनमुक्ति सेना’ का कमान्डर कालिबहादुर खामको आदेशले २०६५ वैशाख १५ मा राति २ बजे श्रेष्ठको घरमा सपरिवार सुतिरहेको बेला बटाला पुगेका थिए। श्रेष्ठलाई चितवन शक्तिखोरमा पु¥याई बटालाले सोधपुछ गरेका थिए। उनले श्रेष्ठ, केशव र गंगारामलाई थुनेर राखेका थिए। वैशाख २८ राति श्रेष्ठको टाउको, छाती, तिघ्रामा कुटेर मरणासन्न पारिएको थियो।

काठमाडौं आउँदै गर्दा भालुढुंगामा श्रेष्ठको मृत्यु भएको भन्दै लास तन्नामा पोको पारी ढुंगा बाँधी नारायणी नदीमा फालिएको थियो। लास फालेको स्थानसम्म डिभिजनकै बोलेरो गाडीमा श्रेष्ठलाई राखेर बटालाको नेतृत्वमा लास फालिएको सरकारी वकिलको निवेदनमा दाबी छ।

श्रेष्ठको शव २०६५ वैशाख २८ बिहान नारायणी नदीमा श्रेष्ठको शव भेटिएको थियो। श्रेष्ठकी श्रीमती रमिलाले आफ्ना पतिको अपहरणपछि हत्या गरिएको भन्दै किटानी जाहेरी दिएकी थिइन्।

बटालासहित तत्कालीन ‘जनमुक्ति सेना’ तेस्रो डिभिजन कमान्डर कालीबहादुर खाम, केशव अधिकारी, गंगाराम थापा र अर्जुन कार्की हत्यामा संलग्न भएको आरोपमा उनीहरुविरुद्ध जिल्ला अदालत चितवनमा कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो।