बाँकेमा पाठेघरको मुखको क्यान्सरविरुद्ध आठ हजारभन्दा बढी किशोरीलाई एचपीभी खोप लगाइने भएको छ। जिल्ला खोप समन्वय समिति, बाँकेको बैठकमा जिल्ला स्वास्थ्य कार्यालयकी प्रमुख सुनिता पौडेलले सो जानकारी दिएकी हुन्।
उनका अनुसार जिल्लामा विद्यालय जाने ६ हजार ५३१ र विद्यालय नजाने २ हजार ५३ गरी कुल ८ हजार ५८४ जनालाई एचपीभी खोप लगाइनेछ। पालिकागत रूपमा राप्तीसोनारी गाउँपालिकामा ७२०, कोहलपुर नगरपालिकामा १ हजार ७०६, बैजनाथ गाउँपालिकामा ८८०, खजुरा गाउँपालिकामा १ हजार १९, जानकी गाउँपालिकामा ६७२, नेपालगन्ज उपमहानगरपालिकामा २ हजार ४२४, डुडुवा गाउँपालिकामा ४४१ र नरैनापुर गाउँपालिकामा ७२१ जनालाई खोप लगाइनेछ।
कक्षा ६ मा अध्ययन गर्ने छात्रा, विद्यालय नजाने १० वर्षीया किशोरी तथा गत वर्ष सञ्चालन भएको एचपीभी खोप अभियानमा छुटेका हाल कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा र ११ देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई लक्षित समूहमा राखिएको छ।
‘यो खोपले एचपीभी भाइरसका १६ र १८ प्रजातिबाट हुने पाठेघरको मुखको क्यान्सरबाट सुरक्षित गर्छ,’ प्रमुख पौडेलले भनिन्। उनले नेपालमा औसतमा दैनिक चार जना महिलाको पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु हुने गरेको जानकारी पनि दिइन्।
भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप चिकित्सकीय क्षेत्रमा ठूलो उपलब्धि भएको बताए।
जिल्लामा माघ २५ देखि फागुन ४ गतेसम्म खोप अभियान सञ्चालन हुने छ भने राप्तीसोनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा माघ २६ गतेदेखि मात्रै खोप लगाउन सुरु गरिने जनाइएको छ। गत वर्ष बाँकेमा ३३ हजार ७५९ जनालाई एचपीभी खोप लगाइएको थियो।














