काठमाडौंमा गोली प्रहार गरी एक जना पक्राउ, ६५ तोला सुन बरामद

Image

काठमाडौंमा प्रहरीले गोली प्रहार गरी एक जनालाई नियन्त्रणमा लिएको छ। गएराति करिब ११ बजे सितापाइला क्षेत्रमा रहेको एक कोठातर्फ जाँदै गरेको अवस्थामा प्रेम चौधरीलाई गोली हानेर पक्राउ गरिएको काठमाडौं प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार चौधरीलाई रोक्ने प्रयास गर्दा उनले ह्यामर प्रहार गरी प्रहरीमाथि आक्रमण गर्न खोजेपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको हो। उक्त घटनामा चौधरी नियन्त्रणमा लिइएको र उनको साथबाट कम्तीमा ६५ तोला सुन बरामद गरिएको एसपी पवन भट्टराईले जानकारी दिए।

काठमाडौंका विभिन्न स्थानमा भएका चोरी घटनामा चौधरीको संलग्नता देखिएपछि प्रहरीले लामो समयदेखि उनको खोजी गरिरहेको थियो। पक्राउ परेका चौधरीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।