राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले पूर्वराजा ज्ञानेन्द्र शाहको काठमाडौं फिर्तीलाई लक्षित गर्दै प्रशासनले लगाएको निषेधाज्ञाप्रति आपत्ति जनाएका छन् । यो निषेधाज्ञाले चुनाव बिथोलिन सक्ने उनको चेतावनी छ ।
जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गर्दै फागुन १ गते राजावादीहरूको प्रदर्शनलाई ध्यानमा राखी त्रिभुवन विमानस्थल परिसरमा निषेधाज्ञा लगाएको जनाएको छ। प्रशासनको दाबी छ कि उक्त प्रदर्शनले चुनावको वातावरण प्रभावित गर्न सक्ने सम्भावना रहेको छ। प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा तोड्नेहरूलाई कानूनी कारबाहीको चेतावनीसमेत दिएका छन्।
सोमबार सामाजिक सञ्जालमा आफ्नो स्टाटसमा लिङ्देनले प्रश्न उठाउँदै लेखेका छन्, “जिप्रकाले जारी गरेको निषेधाज्ञा चुनाव बिथोलिन नदिने हो कि आफैँ बिथोल्न लागेको हो? संविधान र संवैधानिक व्यवस्थालाई मनोमानी ढंगले प्रयोग गर्न थालियो भने कसले मान्छ त्यस्ता निषेधाज्ञा?”
लिङ्देनले यस घटनालाई लोकतन्त्र र संवैधानिक स्वतन्त्रतामा खतरा हुन सक्ने रूपमा देखाएका छन्।















