इनिशा विक हत्या प्रकरणको निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाहीको माग गर्दै विद्यार्थीहरूले शुक्रबार (फागुन २९) काठमाडौंमा प्रदर्शन गरेका छन्।
इनिशालाई न्याय दिनुपर्ने मागसहित पद्मकन्या बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको अगुवाइमा बागबजारदेखि माइतीघरसम्म विरोध प्रदर्शन गरिएको हो।
प्रदर्शनमा सहभागी विद्यार्थीहरूले ‘नारीहरूको सुरक्षा गर’, ‘घटनाको निष्पक्ष छानबिन गर’ लगायतका नाराहरू लगाएका थिए। कालो पट्टी बाँधेर सडकमा उत्रिएका विद्यार्थीहरूले पीडित परिवारले न्याय नपाएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।
सुर्खेतको वीरेन्द्रनगरस्थित एक सामुदायिक वनमा इनिशा विक मृत अवस्थामा फेला परेकी थिइन्। पोस्टमार्टम रिपोर्टअनुसार बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको देखिएको थियो।
घटनाबारे प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ।














