साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ। नेप्से १४.२१ अंकले बढेर २,९५०.१६ विन्दुमा बन्द भएको छ।
तर, अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घटेको छ। बुधबार १५ अर्ब ९ करोड रुपैयाँको सेयर कारोबार भएकोमा बिहीबार १३ अर्ब १६ करोड रुपैयाँमा सीमित भएको छ। यस दिन ३४३ वटा धितोपत्रको ३ करोड ४ लाख ३८ हजार ३१५ कित्ता सेयर किनबेच भएको थियो।
बिहीबार १७८ कम्पनीको सेयर मूल्य बढेको छ भने ८० वटाको घटेको छ, र आठ कम्पनीको मूल्य स्थिर रह्यो। पाँच कम्पनीमा सकारात्मक सर्किट लागेको छ।
रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रोपावर, र होटल फरेस्ट इनको मूल्य १० प्रतिशतले बढेको छ। सोलु हाइड्रोपावर र भुजुङ हाइड्रोपावरको मूल्य ९.९९ प्रतिशतले बढेको छ।
सबैभन्दा मूल्य घट्ने कम्पनीमा पञ्चकन्या माई हाइड्रोपावर परेको छ, जसको सेयर मूल्य ७.७८ प्रतिशत घटेर प्रति कित्ता ३९६ रुपैयाँमा झरेको छ। सिन्धु विकास बैंकको मूल्य ३.५८ प्रतिशतले घटेर ८३३ रुपैयाँ प्रति कित्ता कायम भएको छ।
सबैभन्दा बढी कारोबार एनआरएन इन्फ्रास्टक्चरमा भएको छ। उक्त कम्पनीको ९४ करोड २९ लाख रुपैयाँ बराबरको सेयर १,६६८ रुपैयाँमा किनबेच भएको छ, जुन अघिल्लो दिनको तुलनामा ३.६७ प्रतिशत बढेको हो। दोस्रो सर्वाधिक कारोबार एसवाई प्यानलमा भएको छ, जसको ७१ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर २,०१९.९० रुपैयाँमा किनबेच भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये तीन समूहको परिसूचक घटेको छ भने बाँकी १० समूहको परिसूचक बढेको छ। जलविद्युत समूहको परिसूचक सर्वाधिक १.५६ प्रतिशतले वृद्धि भएको छ।














