विशेष अदालत ले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायतविरुद्ध दायर भ्रष्टाचार मुद्दामा बहस नोट पेश गर्न आदेश दिएको छ।
अदालतका सदस्यहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइराला को इजलासले मुद्दाका दुवै पक्षलाई लिखित बहस नोट पेश गर्न निर्देशन दिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले पतञ्जलि प्रकरणमा हदबन्दीभन्दा बढीको जग्गा बिक्री तथा सट्टापट्टा गर्न अनुमति दिएर भ्रष्टाचार भएको आरोप लगाएको छ। आयोगका अनुसार हदबन्दीभन्दा बढी जग्गा खरिद गर्नका लागि गलत लिखत तयार गरिएको थियो।
उक्त प्रकरणमा मालपोत कार्यालय काभ्रेका कर्मचारीहरूमाथि पनि मुद्दा दायर गरिएको छ। साथै, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, तत्कालीन कानूनमन्त्री प्रेमबहादुर सिंह, भूमिसुधारमन्त्री डम्बर श्रेष्ठ र तत्कालीन मुख्यसचिव माधवप्रसाद घिमिरे को भूमिकामाथि समेत अख्तियारले प्रश्न उठाएको छ।
यसैगरी, सट्टापट्टाबाट प्राप्त जग्गा खरिद गर्ने व्यक्तिहरूमाथि पनि भ्रष्टाचार मुद्दा चलाइएको छ।















