पोखराको सभागृह चोकनजिक बुधबार साँझ भएको हत्या प्रकरणमा प्रहरी अनुसन्धानको सुई मृतक महिलाकै परिवारतर्फ मोडिएको छ। पोखरा महानगरपालिका–५, जीरोकिलोमा व्यवसाय गर्दै आएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्रीको सभागृह चोक र सिर्जनाचोकको बीचमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो।
घटनापछि अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय कास्कीले प्रारम्भिक अनुसन्धानका आधारमा घटनालाई पारिवारिक किचलो र सम्भावित सम्पत्ति विवादसँग जोडेर हेर्न थालेको छ। जिल्ला प्रहरी कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतका अनुसार बुधबार साँझ सिर्जनामाथि पछाडिबाट धारिलो हतियारले प्रहार गरिएको थियो। प्रहारसँगै उनी चिच्याउँदै सडकमा ढलेकी थिइन् भने आक्रमणकारी घटनास्थलबाट भागेका थिए।
घटनास्थल वरपरका सीसीटीभी फुटेजको अध्ययन गर्दा एक व्यक्ति स्कुटीमा शिवालयतर्फ भागेको देखिएको प्रहरीले जनाएको छ। शिवालय लेकसाइड जाने मुख्य बाटो भएकाले त्यहाँ रहेका सीसीटीभी क्यामराको फुटेज अध्ययन गरेर आक्रमणकारीको पहिचान नजिक पुग्ने विश्वास प्रहरीले गरेको छ।
दोस्रो विवाहपछि सुरु भएको पारिवारिक विवाद
सिर्जना पोखराको फेवाताल किनारमा रहेको सेदी क्षेत्रमा बस्दै आएकी थिइन्। उनले पोखराकै जीरोकिलोमा मासु पसल तथा रेष्टुरेन्ट व्यवसाय गर्दै आएका कृष्ण केसीसँग दोस्रो विवाह गरेकी थिइन्। स्थानीयका अनुसार केसीकी पहिलो पत्नीले आत्महत्या गरेपछि कृष्णले तनहुँकी सिर्जनासँग दोस्रो विवाह गरेका थिए।
तर विवाहपछि केसी परिवारभित्र कलह सुरु भएको बताइन्छ। पहिलो पत्नीबाट जन्मिएका छोरा–छोरीले सिर्जनालाई परिवारभित्र स्वीकार गर्न सकेका थिएनन् । सोही विवादका बीचमा कृष्णले सिर्जनाका लागि आफ्नै घडेरीमा छुट्टै घर बनाइदिएका थिए। तर यही विषयलाई लिएर परिवारभित्र झनै असन्तोष बढेको बताइन्छ।
श्रीमानको मृत्युपछि झन चर्कियो विवाद
सिर्जना र कृष्णबाट जन्मिएकी छोरी अहिले तीन वर्षकी छिन्। तर छोरी जन्मिएको केही समयमै कृष्णको निधन भएपछि सिर्जना आफ्नी नाबालिका छोरीको पालनपोषण गर्दै सेदीस्थित घरमा एक्लै बस्दै आएकी थिइन्।
श्रीमानको मृत्युपछि भने परिवारभित्र घरजग्गा र सम्पत्तिको विषयलाई लिएर विवाद झन चर्किएको स्रोतले बताएको छ। पारिवारिक स्रोतका अनुसार कृष्णले सिर्जनाका लागि बनाइदिएको घर र जग्गामा परिवारका अन्य सदस्यले पनि दाबी गर्दै आएका थिए। यही विषयलाई लिएर लामो समयदेखि विवाद चलिरहेको थियो।
अनुसन्धान परिवारतर्फ केन्द्रित
प्रहरीका अनुसार घटनाको प्रकृति हेर्दा तत्काल भएको झगडाभन्दा पनि पुरानो विवादसँग सम्बन्धित योजनाबद्ध आक्रमण हुनसक्ने संकेत देखिएको छ। जेठीतर्फका छोरा लागुऔषध मुद्दामा हाल जिल्ला कारागार कास्कीमा कैद भोगिरहेका छन् । उनलाई लागुऔषध मुद्धामा प्रहरीसम्म पुर्याउने भुमिकामा सिर्जनाले समेत काम गरेको केहीको बुझाई छ ।
आमाको निधनपछि मातृस्नेह गुमाएका सन्तानका लागि साहरा बन्नुपर्ने सिर्जनाले जेठी श्रीमतीतर्फका छोरा छोरीलाई थप अप्ठ्यारो पारेको महसुस परिवारले गरेको भन्ने सूचनाका आधारमा प्रहरीे अनुसन्धानको सुई आफ्नै परिवारका सदस्यतर्फ मोडिएको हुनसक्ने देखिन्छ । तर जिल्ला प्रहरी कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले भने, “मानिस पक्राउ नपरी अहिले निश्चित रूपमा केही भन्न सकिँदैन। तर प्रारम्भिक अनुसन्धानले पारिवारिक कारण वा सम्पत्ति विवादसँग सम्बन्धित घटना हुनसक्ने देखाउँछ।”
प्रहरीले घटनास्थल आसपासका व्यापारी, स्थानीय बासिन्दा र घटनाको समयमा त्यहाँ रहेका व्यक्तिहरूसँग सोधपुछ गरिरहेको जनाएको छ। साथै सीसीटीभी फुटेजको विस्तृत अध्ययन गरेर आक्रमणकारीको पहिचान गर्ने प्रयास जारी रहेको छ।














