१० हजारभन्दा बढी सट्टेबाजी एप र वेबसाइट बन्द

Image

अवैध अनलाइन सट्टेबाजी नियन्त्रणका लागि नेपाल दूरसञ्चार प्राधिकरणले देशभर सञ्चालनमा रहेका १० हजारभन्दा बढी एप्लिकेसन र वेबसाइट बन्द गराएको जनाएको छ।

प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेका अनुसार इन्टरनेट सेवा प्रदायकसँगको समन्वयमा अवैध रूपमा सञ्चालन भइरहेका सट्टेबाजीसम्बन्धी डिजिटल प्लेटफर्महरू पहिचान गरी बन्द गरिएको हो। उनका अनुसार अधिकांश सेवा प्रदायकहरूले यस्ता एप तथा वेबसाइटहरू बन्द गरिसकेको जानकारी दिएका छन्।

विशेषगरी नेपाल टेलिकमले मात्रै २१ हजारभन्दा बढी सट्टेबाजीसम्बन्धी एप र वेबसाइट बन्द गरेको जनाएको छ। प्राधिकरणले यस्ता प्लेटफर्मको निरन्तर निगरानी र पहिचान गर्दै बन्द गर्ने प्रक्रिया जारी रहने जनाएको छ।

सरकारको शासकीय सुधारअन्तर्गत मन्त्रिपरिषद्बाट चैत १३ गते स्वीकृत १०० कार्यसूचीमध्ये बुँदा नम्बर ४२ मा सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने व्यवस्था गरिएको छ। सोहीअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चैत १५ गते प्राधिकरणलाई निर्देशन दिएको थियो।

नेपालको मुलुकी अपराध संहिता २०७४अनुसार सट्टेबाजी गर्न वा गराउन नपाइने कानुनी व्यवस्था छ। उल्लङ्घन गरेमा प्रयोग भएको रकम जफत हुनुका साथै एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने प्रावधान रहेको छ।

त्यसैगरी विज्ञापन ऐन २०६६ले पनि जुवा तथा सट्टेबाजी प्रवर्द्धन गर्ने विज्ञापन निषेध गरेको छ। नियम उल्लङ्घन गरेमा कानुनअनुसार कारबाही हुने व्यवस्था छ।

सरकारले सर्वसाधारणलाई यस्ता अवैध एप तथा वेबसाइट प्रयोग नगर्न आग्रह गर्दै अनधिकृत गतिविधिमा संलग्न पाइए कडा कानुनी कारबाही गरिने चेतावनी दिएको छ। साथै, कुनै शंकास्पद डिजिटल गतिविधि देखिए सम्बन्धित निकायलाई जानकारी गराउन पनि आग्रह गरिएको छ।