मानव बेचबिखन र अपाङ्गता अधिकारसम्बन्धी ऐन संशोधनका लागि सुझाव माग

Image

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले दुई महत्वपूर्ण ऐन संशोधनसम्बन्धी विधेयकको मस्यौदामा सार्वजनिक सुझाव आह्वान गरेको छ।

मन्त्रालयले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ र अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ लाई संशोधन गर्न तयार गरिएको विधेयकको मस्यौदा सार्वजनिक गर्दै सरोकारवाला र सर्वसाधारणसँग राय मागेको हो।

मन्त्रालयका अनुसार विद्यमान कानुनलाई अझ प्रभावकारी, समयसापेक्ष र कार्यान्वयनयोग्य बनाउन नयाँ प्रावधानहरू समावेश गरिएको छ। ती प्रावधानहरूबारे व्यापक छलफल र सुझाव संकलन गर्न मस्यौदा सार्वजनिक गरिएको जनाइएको छ।

इच्छुक व्यक्ति, संघ–संस्था तथा सरोकारवालालाई आफ्नो राय, सुझाव तथा प्रतिक्रिया यही साताभित्र मन्त्रालयमा पेश गर्न अनुरोध गरिएको छ।

मन्त्रालयले प्राप्त सुझावका आधारमा विधेयकलाई अन्तिम रूप दिने तयारी गरेको जनाएको छ।