अमेरिकी सहायक विदेशमन्त्री कपुरलाई दूतावासले गर्‍यो स्वागत

Image

दक्षिण तथा मध्य एशिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुरलाई काठमाडौंस्थित अमेरिकी दूतावासले औपचारिक रूपमा स्वागत गरेको छ।

आज बिहान काठमाडौं आइपुगेका उनलाई दूतावासमा कार्यबाहक राजदूत स्कट अरबमले स्वागत गरेका हुन्। दूतावासले सामाजिक सञ्जालमार्फत फोटो सार्वजनिक गर्दै कपुरलाई नेपालमा न्यानो स्वागत गरिएको जनाएको छ।

दूतावासका अनुसार सहायक विदेशमन्त्री कपुरले आफ्नो भ्रमणका क्रममा सरकारी अधिकारी, व्यवसायिक नेतृत्वकर्ताहरू तथा सांस्कृतिक क्षेत्रका विज्ञहरूसँग भेटघाट गर्नेछन्। भेटवार्तामा अमेरिका–नेपाल साझेदारीलाई थप सुदृढ बनाउने विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

वालेन्द्र शाह नेतृत्वको सरकार गठनपछि कपुर नेपाल आउने अमेरिकी सरकारका सबैभन्दा उच्चस्तरीय अधिकारी हुन्। यो भ्रमण विशेष मानिएको छ, किनभने उनी विशेष रूपमा नेपाल भ्रमणका लागि मात्र अमेरिका बाहिर आएका हुन्।

सामान्यतया अमेरिकी उच्च अधिकारीहरू दक्षिण तथा दक्षिण–पूर्वी एसियाली अन्य मुलुकहरूको भ्रमण क्रममा काठमाडौं आउने गरे पनि यस पटक कपुरको भ्रमण नेपाल केन्द्रित रहेको बताइएको छ।