मधेश प्रदेश सरकारकी शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले शिक्षालाई समयानुकूल, व्यावहारिक र प्रविधिमैत्री बनाउनुपर्ने आवश्यकता औंल्याएकी छन्।
जनकपुरधामस्थित याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय (ज्ञानकूप) को ११७औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले गुणस्तरीय शिक्षाले मात्रै समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने बताइन्। उनले विद्यालयस्तरबाटै अनुशासन, नैतिक शिक्षा र सीपमूलक ज्ञान विकासमा जोड दिनुपर्ने उल्लेख गरिन्।
मन्त्री तिवारीले मधेश प्रदेश सरकारले शिक्षाको पहुँच विस्तार, छात्रवृत्ति वितरण तथा शैक्षिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको जानकारी दिइन्।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख चेतकुमार पोखरेलले शिक्षक, अभिभावक र सरोकारवाला निकायबीच समन्वय भए मात्र शैक्षिक गुणस्तर सुधार सम्भव हुने बताए।
त्यस्तै, विद्यालयका प्रधानाध्यापक सञ्जयकुमार झाले विद्यालयको शैक्षिक उपलब्धि र भावी योजनाबारे जानकारी दिँदै स्थानीय तह र सम्बन्धित निकायसँग थप सहकार्यको आवश्यकता औंल्याए।
कार्यक्रमका अवसरमा कक्षा १२ विज्ञान समूहका १० जना मेधावी तथा समावेशी विद्यार्थीलाई जनही १० हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको थियो।
















