फिलिपिन्सको आमा स्कुल अफ मेडिसिनले तीन जना नेपाली विद्यार्थीलाई एमबीबीएस अध्ययनका लागि शतप्रतिशत छात्रवृत्ति प्रदान गरेको छ। मनिलास्थित उक्त कलेजले बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीहरूको नाम सार्वजनिक गरेको हो।
छात्रवृत्ति पाउनेमा कनैयाकुमार पटेल, ऋतिका पौडेल र आदर्श कुमार सिंह रहेका छन्। उनीहरूको एमबीबीएस अध्ययनका लागि आवश्यक सम्पूर्ण शिक्षण शुल्क छात्रवृत्तिमार्फत कभर गरिने कलेजकी प्रतिनिधि साथै आमा स्कुल अफ मेडिसिनकी अन्तर्राष्ट्रिय विद्यार्थी मामिला निर्देशक आयुष्मा राणा शाहले जानकारी दिइन्। उक्त कलेजमा एमबीबीएस अध्ययन गर्न करिब ४२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
छात्रवृत्ति पाएका विद्यार्थीमध्ये आदर्श कुमार सिंहले पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने अवसर पाउनु ठूलो जिम्मेवारी भएको बताउँदै यसका लागि कलेज र आयोजकप्रति आभार व्यक्त गरे।
शाहका अनुसार मेडिकल डक्टर सोलुसनसँगको सहकार्यमा नेपालमा यो कार्यक्रम सञ्चालन गरिएको हो। साथै, उक्त कलेजमा अध्ययन गर्न चाहने अन्य नेपाली विद्यार्थीहरूलाई पनि २ देखि ५ लाख रुपैयाँसम्मको आंशिक छात्रवृत्ति उपलब्ध गराइने राणाले बताएकी छन्।

कार्यक्रममा नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल कार्कीले छात्रवृत्ति पाउने विद्यार्थीहरूलाई बधाई दिँदै विदेशमा अध्ययनपछि स्वदेश फर्केर देशको स्वास्थ्य क्षेत्रमा योगदान दिन आग्रह गरे।
त्यस्तै, नेपाल क्यान्सर अस्पताल सह.संस्थापक डा. बिजेश राज घिमिरेले नेपालमै पर्याप्त अवसर रहेको उल्लेख गर्दै विद्यार्थीहरूले प्राप्त अवसरलाई सदुपयोग गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा एमबीबीएसको तयारी गरिरहेका विद्यार्थी, अभिभावकलगायतको उपस्थिति थियो। आयुष्मा राणा शाहको सक्रियतामा स्थापना भएको मेडिकल डक्टर सोलुसनले मेडिसिन अध्ययन गर्ने विद्यार्थीहरूलाई सहयोग गर्दै आएको छ।
उनकै सक्रियतामा शतप्रतिशतसम्म छात्रवृत्तिको कार्यक्रम ल्याइएको हो। आयुष्माले फिलिपिन्स र भारतमा पनि ५ हजार भन्दा व्यक्तिलाई एमबीबीएस अध्ययन गर्न सहयोग गरिसकेकी छन्। यसपटक नेपालबाट २८ जना एमबीबीएस अध्ययनका लागि फिलिपिन्सको आमा स्कुल अफ मेडिसिनमा जाँदै गरेको उनले बताईन ।
















