काठमाडौँका सुकुम्बासी बस्तीमा माइकिङ- वैशाख १२ गते घरटहरा भत्काइनेछ, बस्ती खाली गर्नू

Image

काठमाडौं महानगरपालिकाले खोला–नदी किनारमा बस्दै आएको सुकुम्बासी बस्तीहरूमा माइकिङ गर्न थालेको छ। बिहीबार साँझदेखि सुरूमा तीन वटा स्थानमा जानकारी गराउन थालिएको महानगर प्रहरी बल प्रमुख विष्णुप्रसाद जोशीले जानकारी दिए। उनका अनुसार थापाथली, मनोहरा र सिनामंगल क्षेत्रमा माइकिङ गर्न पठाइएको छ।

महानगर प्रहरीले माइकिङ गर्दा ६ वटा बुँदा भनेको छ। पहिलो, अवैध रूपमा बनाइएका घर–टहराहरू वैशाख ११ गते साँझ ७ बजेभित्र खाली गर्नू। घर–टहरामा भएका आफ्ना सरसामान, लत्ता कपडा, घरपालुवा, पशुपंक्षी सुरक्षित स्थानमा तत्काल सार्ने व्यवस्था गर्नू।

दोस्रो, घर–टहराहरूमा बसोबास गर्ने अपांगता भएका, साना बालबालिका, गर्भवती, सुत्केरी, वृद्धवृद्धा एवं बिरामीहरूलाई प्राथमिकता दिई अन्यत्र सार्नू। यसका लागि काठमाडौं महानगरीय प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको समेत मद्दत लिनू।

तेस्रो, वैशाख १२ गते बिहान ६ बजेदेखि घर–टहराहरू भत्काउने र अतिक्रमित जग्गा पूर्ण रूपमा खली गरिनेछ। यो काममा बाधा पुर्‍याएमा कानुन बमोजिम कारबाही गरिनेछ।

चौथो, सम्बन्धित मन्त्रालय तथा अन्य अधिकार प्राप्त निकायबाट वास्तविक भूमिहीन सुकुम्बासीहरूको लगत लिने र स्क्रिनिङको काम तत्कालै सुरू गरिनेछ।

पाँचौं, १० देखि १५ दिनभित्रै यकिन भएका वास्तविक भूमिहीनलाई बसोबासको उचित प्रबन्ध गर्ने तयारी छ। र, छैटौं, कसैले सूचना अटेर गरेमा संयुक्त कारबाही गर्दा भत्काइने संरचना र क्षति हुने व्यक्तिगत सम्पत्तिको जिम्मेवार आफै हुनुपर्नेछ।

महानगर प्रहरी बल प्रमुख विष्णुप्रसाद जोशीका अनुसार माइकिङ गर्दा यथाशीघ्र बस्ती छोडेर सार्वजनिक स्थान खाली गर्न भनिएको छ।