काठमाडौँका नदी किनारमा रहेका सुकुमवासी बस्ती हटाउन सरकारले निर्देशन दिएको छ । प्रधानमन्त्री बालेन शाहले सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएसँगै प्रहरीले बिहीबार साँझदेखि नै बस्ती वरपर माइकिङ सुरु गरिसकेको छ।
आगामी वैशाख १२ गते बिहान ६ बजेदेखि थापाथली, मनोहरा र सिनामंगल क्षेत्रका घर–टहरा भत्काउने र अतिक्रमित जग्गा खाली गराउने तयारी गरिएको छ। यो कार्यमा अवरोध पुर्याउनेलाई कानुन बमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ।
सरकारले पहिलो चरणमा थापाथली र सिनामंगल क्षेत्रलाई लक्षित गरेको छ। ‘नदी किनाराको मापदण्डभित्र जग्गा दिन नमिल्ने र विकल्प हुँदाहुँदै पनि सरकारी जग्गा कब्जा गरिएकाले यो कदम चालिएको हो,’ प्राधिकरणका एक अधिकारीले बताए।
बिहीबार साँझदेखि थापाथली क्षेत्रमा प्रहरीको उपस्थिति बढाइएको छ र माइकिङमार्फत आफ्ना सामान सुरक्षित स्थानमा लैजान सूचित गरिएको छ।
सुकुमवासी बस्तीमा बस्नेहरूसँग करोडौँको जग्गा
नेपाली बृहत शब्दकोशअनुसार सुकुम्बासी भनेको ‘घरबार, जायजेथा केही पनि नभएको’ वर्ग हो । जो आफ्नो दैनिकी चलाउन सक्दैन, आर्थिक अवस्था कमजोर छ, आम्दानीको स्रोत छैन, जायजेथा पनि केही छैन उ नै वास्तविक सुकुम्बासी हुन् ।
अर्थात, आफ्नो परिवारको नाममा जग्गाधनी वा मोहीको हैसियतले कहीँ पनि घर जग्गा नभएका, घरजग्गा जोड्न सक्ने हैसियत नरहेका गरिब, निमुखा नागरिकलाई सुकुम्बासी वा भूमिहीन भनिन्छ ।
तर, यहाँका सुकुम्बासी फरक–फरक छन् । काठमाडौँ उपत्यका विकास प्राधिकरणले प्राप्त गरेको विवरण अनुसार, सुकुमवासीको नाममा थापाथलीमा बसोबास गर्नेहरू केही व्यक्तिहरुसँग देशका विभिन्न ठाउँमा करोडौँको जग्गा भेटिएको छ।
सुकुमवासी भनिने व्यक्तिहरू र उनीहरूको सम्पत्ति :
| नाम | स्थायी ठेगाना | जग्गाको क्षेत्रफल | जग्गा रहेको स्थान |
| दिनेशमान श्रेष्ठ | पाँचखाल, काभ्रे | २५ रोपनी | – धनकुटाको हात्तीखर्कमा २३ रोपनी ३ आना – मकवानपुरको हाँडीखोलामा १ रोपनी १४ आना – मकवानपुरको भैंसेमा ८ आना |
| चन्द्र बहादुर योञ्जन | धियाल, मकवानपुर | २३ रोपनी | – सिन्धुलीको कपिलकोटमा ९ रोपनी ३ आना – सिन्धुलीकै महेन्द्र झयाडीमा ११ रोपनी ७ आना – काठमाडौँको इचंगुनारायणमा २ आना १२ पैसा |
| पदमराज खड्का | मध्यनेपाल, लमजुङ | २१ रोपनी ११ आना | लमजुङको बांगेमा ७ कित्तामा २१ रोपनी ११ आना जग्गा |
| रुपमुनी ढुङ्गाना | काठमाडौँ-११ | २० रोपनी ९ आना | – रामेछापको भलुवाजोरमा १८ रोपनी जग्गा – ललितपुरको छम्पीमा १ रोपनी ९ आना जग्गा |
| टेक बहादुर दर्जी | मातिम, खोटाङ | १८ रोपनी ६ आना | खोटाङको मातिममा १८ रोपनी ६ आना जग्गा |
| बुधे तामाङ | बेलकोट, नुवाकोट | १४ रोपनी १ आना | नुवाकोट बेलकोटमा १४ रोपनी १ आना जग्गा |
| समरसिं प्रजा | महादेवस्थान, धादिङ | १० रोपनी ११ आना | धादिङको महादेवस्थानमा ५ कित्तामा १० रोपनी ११ आना जग्गा |
| दिलमाया खत्री केसी | दोलखा, माटी | ६ रोपनी ३ आना | दोलखाको माटीमा ६ रोपनी ३ आना जग्गा |
| कर्ण बहादुर राई | सोलुखुम्बु | ३ रोपनी १२ आना | सोलुखुम्बुको नेचावेतघारीमा ३ रोपनी १२ आना बढी जग्गा |
| दिल तामाङ | रौतहट, चन्द्रनिगाहपुर | ३ रोपनी ८ आना | रौतहटको चन्द्रनिगाहपुर–४ मा ३ रोपनी ८ आना जग्गा |
| श्याम परियार | मकवानपुर, फाखेल | ३ रोपनी ६ आना | मकवानपुरको चितलाङमा ३ रोपनी ६ आना जग्गा |
| विष्णु उप्रेती | काभ्रे, बाडथली | ३ रोपनी ५ आना | काभ्रेको बाडथलीमा ३ रोपनी ५ आना जग्गा |
| पवित्रा माया मगरनी | काठमाडौँ–११ | १ रोपनी १४ आना | – मकवानपुरको टिष्टुङमा १ रोपनी जग्गा – चितलाङमा १४ आना जग्गा |
| केदार महतो नुनिया | महोत्तरी, पर्सा | २ कट्ठा ७ धुर | महोत्तरीको सोनमामा २ कट्ठा ७ धुर जग्गा |
| भागवत राम | सप्तरी, विसहरिया | १ कट्ठा १८ धुर | सप्तरीको विसहरिया–७ मा १ कट्ठा १८ धुर जग्गा |
| सीता चालिसे | काठमाडौँ, कपन–१ | १० आनाभन्दा बढी | – ललितपुरको टिकाथलीमा ६ आना जग्गा – भक्तपुरको सिपाडोलमा ३ आना जग्गा |
| सूर्यबहादुर सिलवाल | ललितपुर उपमहानगरपालिका–३ | १ रोपनी ८ आना | ललितपुरको लेलेमा १ रोपनी ८ आना जग्गा |
| मिन राना मगर | मकवानपुर, धियाल | ८ आना २ पैसा | काभ्रेको कुशादेवीमा ८ आना २ पैसा जग्गा |
| दुर्गा खड्का | चितवन, चैनपुर | ७ आना | मकवानपुरको ज्यामिरेमा ७ आना जग्गा |
| कृष्ण प्यारी तण्डुकार | ललितपुर–१३ | ६ आना १ पैसा | काठमाडौँको भिमढुंगामा ६ आना १ पैसा जग्गा |
| सीता पौडेल क्षेत्री | काठमाडौँ महानगरपालिका–११ | ३ आना ५ पैसा | ललितपुरको लामाटारमा ३ आना ५ पैसा जग्गा |
| कैलाश खड्का | काठमाडौँ, चावहिल | ५ आना १ पैसा | चितवनको रतनपुरमा ५ आना १ पैसा जग्गा |
| राज खुलाल | स्थायी ठेगाना नखुलेका | ५ आना १ पैसा | मकवानपुरको पदमपोखरीमा ५ आना १ पैसा जग्गा |
| ललिमाया श्रेष्ठ | रामेछाप, गागल | ४ आना २ पैसा | रामेछापको गागल–६ मा ४ आना २ पैसा जग्गा |
| सुन्तली राई | नुवाकोट, हल्देकालिका | ४ आना २ पैसा | नुवाकोटको भैरवीमा ४ आना २ पैसा जग्गा |
| झगेन्द्र बहादुर बुढा | सल्यान, धनवाङ | ४ आना १ पैसा | भक्तपुरको दधिकोटमा ४ आना १ पैसा जग्गा |
| हिरा थापा | तनहुँ, स्याम्वा | ४ आना १ पैसा | तनहुँको सजामा ४ आना १ पैसा जग्गा |
| कैलाशवती देवी | रौतहट, धर्मपुर | ८ धुर | रौतहटको चन्द्रनिगाहपुरमा ८ धुर जग्गा |
| कान्छी माया गुरुङ | रसुवा, डाडागाउँ | ४ आना | चितवनको पञ्चकन्यामा ४ आना जग्गा |
| चेतमाया श्रेष्ठ | काठमाडौँ, कलंकी | २ आना २ पैसा | चितवनको मंगलपुरमा २ आना २ पैसा जग्गा |
| शकुन्तला भारती | लमजुङ, टोडेनी | २ आना २ पैसा | काठमाडौँको सौखेलमा २ आना २ पैसा जग्गा |
| डम्बर बहादुर रुम्जन | सिन्धुली, कमलामाई | २ आना १ पैसा | काठमाडौँको बज्रबाराहीमा २ आना १ पैसा जग्गा |
| सरस्वती बस्नेत | सिन्धुपाल्चोक, धुस्कुन | ३ पैसा ३ दाम | काठमाडौँको बुढानीलकण्ठमा ३ पैसा ३ दाम जग्गा |
यीबाहेक काभ्रेको बुढाखानी घर भएका नारायण ब. मगर, धादिङको थाक्रे घर भएका माईला तामाङ र काभ्रेकै गणेशस्थान घर भएकी मीना कोइरालाको नाममा यसअघि जग्गा भए पनि विभिन्न समयमा बिक्री गरिसकेको विवरणमा देखिएको छ । मगरसँग काभ्रेको साँगामा ५ रोपनीभन्दा बढी र बुढाखानीमा २ रोपनीभन्दा धेरै जग्गा थियो ।
वास्तविक सुकुमवासीबारे के छ कानुन ?
भूमिसम्बन्धी ऐन २०२० र राष्ट्रिय भूमि आयोगको कार्यविधिले नदी तथा खोला किनार, सडकको राइट–अफ–वे, वन क्षेत्र, पुरातात्त्विक वा धार्मिक महत्त्वका स्थल, हाइटेन्सन लाइन मुनिको क्षेत्र र प्राकृतिक जोखिमयुक्त स्थानमा रहेका बस्तीलाई सोही ठाउँमा जग्गा दिन नमिल्ने व्यवस्था गरेको छ ।
यदि कुनै भूमिहीन सुकुमबासी यस्ता जोखिमयुक्त वा कानुनले निषेध गरेका स्थानमा बसोबास गरेका छन् भने उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने मापदण्ड छ । कानुनले निषेध नगरेका सुरक्षित सार्वजनिक जग्गामा बसोबास गर्दै आएका सुकुमबासीको हकमा भने सम्बन्धित क्षेत्रमा तोकिए बराबरको जग्गा निःशुल्क उपलब्ध गराउने कानुनी व्यवस्था छ । यस अन्तर्गत सहरी क्षेत्रमा आवासका लागि बढीमा १३० वर्गमिटर अर्थात् (झन्डै चार आना) नबढ्ने गरी निःशुल्क जग्गा उपलब्ध गराउने कानुनी व्यवस्था छ ।
त्यस्तै, ग्रामीण क्षेत्रमा आवास प्रयोजनका लागि प्रतिपरिवार बढीमा ३४० वर्गमिटर करिब १ कट्ठा वा १ आना ३ पैसा सम्म जग्गा उपलब्ध गराउने व्यवस्था छ । यदि सुकुमबासी परिवारलाई आवासको सट्टा कृषि प्रयोजनका लागि जग्गा दिनुपर्ने अवस्था भएमा भौगोलिक रूपमा तराई र भित्री मधेसमा बढीमा करिब ६ कट्ठासम्म र पहाड र हिमाली क्षेत्रमा बढीमा ३ हजार वर्गमिटर करिब ६ रोपनी सम्म निःशुल्क रूपमा उपलब्ध गराउनसक्ने व्यवस्था छ ।















