बैठक नै नबसी संसद् अधिवेशन स्थगन गर्नु संसदीय परम्परा विपरीत भएको कांग्रेसको निष्कर्ष

Image

नेपाली कांग्रेसले अविलम्ब संसद् बैठक सुरु गर्न माग गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसद् स्थगनका वास्तविक कारणहरू सार्वजनिक गर्न र संसद्प्रति सरकारको पूर्ण जवाफदेहिता सुनिश्चित गर्न आग्रह गरेको छ ।

बैठकले संसद्लाई प्रभावहीन बनाउने र लोकतान्त्रिक मूल्यमान्यतालाई कमजोर पार्ने प्रयासविरुद्ध सदन र सडकबाट आवाज उठाउने निर्णय गरेको छ । लोकतन्त्रको सुदृढीकरणका लागि संविधानको अक्षर मात्र होइन, यसको मर्म, संसदीय संस्कार र राजनीतिक नैतिकताको पालना अनिवार्य हुन्छ भन्ने कुरामा नेपाली कांग्रेस दृढ रहेको पार्टी प्रवक्ता देवराज चालिसेले बताए ।

संविधान अनुसार, आह्वान गरिएको बैठक सरकारकै सिफारिसमा बैठक नबसी स्थगन गर्नु संसदीय परम्परा, अभ्यास तथा संवैधानिक नैतिकताको प्रतिकूल कार्य रहेको कांग्रेसको ठहर छ ।

पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा बसेको बैठकले सरकारको पछिल्लो कदमले कार्यपालिकाको सुविधाअनुसार, सञ्चालन हुने ‘औजार’का रूपमा प्रस्तुत गर्ने गम्भीर जोखिम उत्पन्न गरेको निष्कर्ष निकालेको छ ।

लोकतन्त्रमा नागरिकले राज्यका निर्णय र सार्वजनिक संस्थाहरूको सञ्चालनबारे सुसूचित हुन पाउनुपर्ने, नागरिकको मौलिक अधिकार भए पनि ‘विशेष कारण’ जस्तो अस्पष्ट आधारमा संसद स्थगन गर्नु र त्यसबारे नागरिकलाई स्पष्ट जानकारी नदिनु सरकारको पारदर्शिता र नियतमाथि गम्भीर प्रश्न खडा गरेको कांग्रेसको ठहर छ ।

नेपाली कांग्रेस संसदीय दलको विधानलाई समयसापेक्ष परिमार्जन गरी संशोधनसहित बैठकले पारित गरेको छ ।