देशका विभिन्न स्थानबाट लागुऔषध तथा अवैध वस्तुसहित पाँच जना पक्राउ
नियमित गस्तीमा खटिएको प्रहरी टोलीले देशका विभिन्न भागबाट पाँच जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरी का अनुसार काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट खैरो हेरोइनसहित बर्दिया गुलरिया नगरपालिका–१ का २४ वर्षीय निकलेश गोडिया शुक्रबार पक्राउ परेका हुन्।
त्यस्तै, तनहुँको देवघाट गाउँपालिका–५ सेतीभतेरी टोलका ३६ वर्षीय रोहित भन्ने कृष्ण तामाङलाई गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने विभिन्न औषधिसहित नियन्त्रणमा लिइएको छ। प्रहरीका अनुसार उनको घर खानतलासी गर्दा जरायोका सिङ र गैँडाको छाला समेत बरामद भएको छ।
यसैगरी, झापाको हल्दीबारी गाउँपालिका–३ बाङ्गे बजारबाट खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरिएको छ। उनीहरूलाई शुक्रबार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीले पक्राउ परेकामाथि आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।














