काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकविरुद्धको निगरानी कडा बनाइएपछि पछिल्लो २४ घण्टामा २,९०३ जना चालक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय का अनुसार उक्त कारबाहीबाट राज्यकोषमा २५ लाख ५६ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
कार्यालयले दिएको विवरणअनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने १२७ जना, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने २८१ जना, ट्राफिक सङ्केत उल्लङ्घन गर्ने २०० जना र तीव्र गतिमा सवारी चलाउने १७६ जना चालकलाई कारबाही गरिएको छ।
यसैगरी, लेन अनुशासन पालना नगर्ने ३१२ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ६५ जना, निर्धारित स्थानमा यात्रु चढाउने तथा ओराल्ने नियम उल्लङ्घन गर्ने ७४ जना र अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने १,४९९ जनालाई समेत कारबाही गरिएको कार्यालयले जनाएको छ।
ट्राफिक प्रहरीले सडक सुरक्षा कायम गर्न तथा दुर्घटना न्यूनीकरणका लागि नियमित अनुगमन र कारबाहीलाई थप प्रभावकारी बनाउने जनाएको छ।
















