काठमाडौँको इन्द्रचोक–भेडासिंहस्थित एक सुनचाँदी पसलमा पेस्तोल देखाउँदै लुटपाटको प्रयास गरेको आरोपमा प्रहरीले तीन जना युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार वैशाख १७ गते दिउँसो ‘नैना एन्ड इशान ज्वेलरी’मा लुटपाटको प्रयास भएको थियो। पसलकी सञ्चालक बबिता रौनियारले प्रतिकार गरेपछि आरोपितहरू घटनास्थलबाट भागेका थिए।
घटनापछि गरिएको अनुसन्धान र खोजतलासका क्रममा प्रहरीले ललितपुर महानगरपालिका–६ का २९ वर्षीय हरिकृष्ण महर्जनसहित विकेश राजवाहक र अरुण भुजेललाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार महर्जनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले र राजवाहक तथा भुजेललाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेको हो। पक्राउ परेका भुजेलको साथबाट घटनामा प्रयोग गरिएको पेस्तोलसमेत बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले महर्जनले घटनापछि लगाएको कपडा घटनास्थल नजिकै फालेर हुलिया परिवर्तन गरेको समेत खुलासा गरेको छ। उनीहरू यसअघि भएका विभिन्न आपराधिक घटनामा समेत संलग्न रहेको आशंका गरिएको छ।















