पोखरामा श्रीमानको हस्ताक्षर किर्ते गरी ५० लाख रुपैयाँ कर्जा निकालेर ठगी गरेको आरोपमा प्रहरीले एक महिलासहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पोखरा ढुंगेपाटनका ५२ वर्षीय मोहनबहादुर शाहीकी श्रीमती ४४ वर्षीया वन्ती शाही र सुर्खेत बुद्धचोक घर भएका ४४ वर्षीय भद्र थापा रहेका छन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिशुवाको संयुक्त टोलीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार मोहनबहादुर शाहीको नाममा रहेको पोखरा महानगरपालिका–३० स्थित कित्ता नम्बर २४४४ र २४४७ को जग्गामा नक्कली हस्ताक्षर गरी सिद्धार्थ बैंकमा धितो राखेर ५० लाख रुपैयाँ कर्जा लिएको पाइएको छ।
कास्कीका डीएसपी हरि बस्नेतका अनुसार आरोपीहरूले मोहनबहादुरकै हस्ताक्षर किर्ते गरेर बैंकिङ प्रक्रिया पूरा गर्दै रकम निकालेका थिए। घटनामा संलग्न दुवै जनाविरुद्ध ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
















