राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा आयोजना गर्ने निर्णय गरेको छ । बुधबार बिहान बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति र स्थान टुंगो लगाएको हो ।
पार्टीका नेता गणेश पराजुलीले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त निर्णयको जानकारी दिएका हुन् । यसअघि पार्टी सभापति रवि लामिछाने ले असार ६, ७ र ८ गते महाधिवेशन गर्ने प्रस्ताव राखेका थिए । तर केन्द्रीय समिति बैठकले एक दिन पछि सार्दै असार ७ देखि ९ गतेसम्म चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।
महाधिवेशनको तयारी तथा विविध समसामयिक एजेण्डामाथि छलफल गर्न पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा केन्द्रीय समिति बैठक आयोजना गरिएको थियो । बैठकमा संगठन विस्तार, विधान संशोधन तथा आगामी राजनीतिक रणनीतिका विषयमा समेत छलफल भएको बताइएको छ ।
यसअघि रास्वपाले निर्वाचन सम्पन्न भएको ६ महिनाभित्र महाधिवेशन सम्पन्न गर्ने सैद्धान्तिक निर्णय गरेको थियो । सो निर्णयअनुसार पार्टीले भदौभित्र महाधिवेशन गरिसक्नुपर्ने अवस्था रहेको थियो ।
वि.सं. २०७९ सालमा स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी छोटो समयमै राष्ट्रिय राजनीतिमा प्रभावशाली शक्तिका रूपमा उदाएको पार्टी मानिन्छ ।
















