सर्लाहीको हरिवनमा यात्रुवाहक बसको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ।
उदयपुरको गाईघाटबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.–०१–००६ ख ९६७० नम्बरको बसले आज बिहान हरिवन नगरपालिका–११ स्थित कडरिया चोकमा ती पुरुषलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय कर्मैयाका अनुसार दुर्घटनामा परेका पुरुषको नाम, थर र ठेगाना खुल्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले बसको ठक्करबाट ती पुरुषको घटनास्थलमै मृत्यु भएको जानकारी दिए।
घटनापछि बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।















