‘प्रहरीको सई हुँ’ भन्दै नक्कली पेस्तोल देखाएर रकम असुल्न खोज्ने पक्राउ

‘प्रहरीको सई हुँ’ भन्दै नक्कली पेस्तोल देखाएर रकम असुल गर्न खोज्ने एक व्यक्तिलाई सशस्त्र प्रहरीले सिरहाबाट पक्राउ गरेको छ ।

सिरहाको नेपाल भारत सीमाक्षेत्र बडियारपट्टी गाउँपालिका-३ मा व्यवसायीलाई प्रहरी हुँ भन्दै धम्क्याइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सिरहाकै लक्ष्मीपुरपतारी गाउँ पालिका- १ का मुकुन्द कुमार साह छन् । सशस्त्र प्रहरी बल बडियारपट्टीको टोलीले उनलाई नक्कली पेस्तोलसहित बिहीबार साँझ पक्राउ गरेको हो ।

भारतबाट नेपाल तर्फ आइरहेका लक्ष्मीपुरपतारी- २ का मुकेश यादव र सखुवानन्कारकट्टी गाउँपालिका- १ का सदन नारायण दासलाई उनले नक्कली पेस्तोल देखाउँदै ‘नेपाल प्रहरीको सई हु’ भन्दै धम्क्याई रहेको अवस्थामा नियन्त्रणमा लिएको शसत्र प्रहरीले जनाएको छ ।

पक्राउ परेका साहलाई आवश्यक कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहाको हिरासतमा राखिएको छ ।