नेपालमा प्रतिबन्धित भेपको कारोबारको जालो ध्वस्त पार्न प्रहरीले व्यापक अप्रेशन सुरु गरेको छ । सो क्रममा काठमाडौंको न्यूरोड खिचापोखरीस्थित आरबी कम्प्लेक्सबाट ठूलो मात्रामा अबैध भेप बरामद गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
प्रहरीले भेपधनीको रुपमा ललितपुर महानगरपालिका वडा ८ स्थायी ठेगाना भएका ३२ बर्षिया नविन खड्कालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार खिचापोखरीस्थित आरबी कम्प्लेक्सको अण्डरग्राउडमा रहेको गोदाम र खिचापोखरीमै रहेको भेपमाण्डु नामक पसलबाट करिब छ करोड मूल्य बराबरको २८ हजार ५०० थान भेप बरामद गरेको हो । प्रहरीले सो भेपको कनेक्सन खोजी गरिरहेको जनाएको छ ।
काठमाडौंमा पक्राउ परेको भेप यो सानो परिमाणको हो । काठमाडौंको ठमेल, झोँछे, ललितपुरको झम्सिखेल, बौद्ध लगायतका क्षेत्रमा ठूलो मात्रामा भेपको कारोबार हुने गरेको छ ।
विद्यालय तथा कलेजमा अध्ययन गर्दै गरेका हजारौं किशोर किशोरीहरु यतिबेला भेपको लतमा डुबेका छन् । विद्युतीय भेप स्वास्थ्यका लागि चुरोट भन्दा पनि घातक मानिएकोले प्रतिबन्ध लगाइएको हो ।
















