लामो रस्साकस्सीपछि मधेश सरकार विस्तार हुँदै, एमालेबाट तीन र नेकपाबाट एक मन्त्री बन्ने

Image

लामो समयदेखि जारी राजनीतिक रस्साकस्सीपछि मधेश प्रदेश सरकार विस्तार हुने भएको छ । सत्तारुढ नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच १५ बुँदे सहमति भएपछि मन्त्रिमण्डल विस्तारको प्रक्रिया अघि बढाइएको हो ।नयाँ सहमतिअनुसार एमालेबाट तीन जना र नेकपाबाट एक जना गरी चार मन्त्रीले शपथ लिने तयारी गरिएको छ ।

एमालेबाट यसअघि बिना विभागीय मन्त्रीको रूपमा शपथ लिएका मोहम्मद समिरलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको छ । यस्तै, एमालेकै शारदादेवी थापालाई श्रम तथा यातायात मन्त्रालय, लखन दासलाई समाज कल्याण तथा खेलकुद मन्त्रालय तथा मनोज सिंहलाई शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेवारी दिने सहमति भएको स्रोतले जनाएको छ ।

त्यसैगरी, नेकपाका संसदीय दलका नेता युवराज भट्टराईलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।मुख्यमन्त्री कृष्णप्रसाद यादवले केहीबेरमै उनीहरूलाई मन्त्री नियुक्त गरी पद तथा गोपनीयताको शपथ गराउने तयारी गरिरहेका छन् ।यसअघि नेकपा असन्तुष्ट बनेपछि मन्त्रिमण्डल विस्तार प्रक्रिया रोकिएको थियो । दुई दिनअघि मन्त्रिमण्डल विस्तारको अन्तिम तयारी भए पनि भागबण्डामा सहमति जुट्न नसक्दा एमालेबाट प्रस्तावित मन्त्रीहरू शपथका लागि पुगेर पनि फर्किनुपरेको थियो ।