विपक्षी दलहरूले आजको प्रतिनिधि सभा बैठकमा पनि विरोध जारी राख्ने भएका छन् । प्रधानमन्त्री बालेन शाहले आइतबारको प्रतिनिधि सभा बैठकमा दिएको एक अभिव्यक्ति त्रुटिपूर्ण रहेको निष्कर्ष निकाल्दै विपक्षी दलहरूले प्रधानमन्त्रीलाई संसदमै आएर प्रष्टीकरण दिन भनेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आह्वानमा आज सिंहदरबारमा कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाको बैठक बसेको थियो ।
नेकपाका प्रमुख युवराज दुलालले प्रधानमन्त्रीले माफी नमागेसम्म सदन चल्न नदिने निष्कर्ष प्रतिपक्षी दलहरूको बैठकले निकालेको बताएका छन् । बैठकले प्रधानमन्त्रीले सीमा अतिक्रमणसम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएको निष्कर्ष निकालेको पनि उनले बताए ।
प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने, प्रधानमन्त्रीले संसद्बाटै माफी माग्नुपर्ने माग पनि राखेका छन् । यी मागहरू पूरा नहुँदासम्म सदन चल्न नदिने निष्कर्ष निकालेको उनको भनाइ छ ।















