निर्वाचन विवादपछि रास्वपाको आन्तरिक निर्वाचन प्रक्रिया स्थगित

Image

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले पार्टीभित्र जारी आन्तरिक निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया तत्कालका लागि स्थगन गरेको छ।आयोगका प्रमुख भुवन केसीको अध्यक्षतामा बसेको बैठकले बागमती र मधेस प्रदेशका केही जिल्लामा निर्वाचनसम्बन्धी विवाद तथा उजुरी प्राप्त भएकाले त्यसको छानबिनबाट अन्तिम निर्णय नआएसम्म सबै निर्वाचन तथा अधिवेशन प्रक्रिया रोक्ने निर्णय गरेको हो।

आयोगले जारी गरेको निर्णयअनुसार बागमती प्रदेशअन्तर्गत सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका लगायत विवादित स्थानीय तह तथा वडाहरूमा निर्वाचन प्रक्रिया स्थगन गरिएको छ।त्यस्तै मधेस प्रदेशका सप्तरी, सिराहा, महोत्तरी, धनुषा र सर्लाही जिल्लाका विभिन्न स्थानीय तहमा सञ्चालन भइरहेका वा सञ्चालन हुने तयारीमा रहेका वडा, पालिका तथा जिल्ला अधिवेशनसम्बन्धी सम्पूर्ण प्रक्रिया पनि रोकिएको आयोगले जनाएको छ।

आयोगका अनुसार प्राप्त उजुरी तथा विवादका विषयमा निष्पक्ष छानबिन गरी आवश्यक निर्णय गरिनेछ। छानबिनबाट अन्तिम निष्कर्ष ननिस्किएसम्म सम्बन्धित क्षेत्रका निर्वाचन गतिविधि अगाडि नबढाइने जनाइएको छ।रास्वपाले आन्तरिक लोकतान्त्रिक प्रक्रियालाई पारदर्शी र विश्वसनीय बनाउन विवादित विषयहरूको यथार्थ अध्ययन तथा समाधान आवश्यक रहेको भन्दै अस्थायी रूपमा निर्वाचन प्रक्रिया स्थगन गरिएको जनाएको छ।