भक्तपुर नगरपालिका–१० छालिङ रोडस्थित आर्मी व्यारेक नजिक एक महिलाको हत्या भएको छ। घरायसी विवादका क्रममा श्रीमानले खुकुरी प्रहार गर्दा ३३ वर्षीया सलिना तोलाङ्गे विश्वकर्माको ज्यान गएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार काठमाडौंको शंकरापुर नगरपालिका–६ नाङ्लेभारे स्थायी घर भई आर्मी व्यारेक पछाडि डेरा गरी बस्दै आएकी सलिनामाथि उनका श्रीमान ३८ वर्षीय विदुर विश्वकर्माले बुधबार बेलुकी पौने ८ बजेतिर खुकुरी प्रहार गरेका थिए।
खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी सलिनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश जबेगुले जानकारी दिए।घटनाका क्रममा आमा–बुवाबीचको झगडा छुट्याउन गएका उनीहरूका आठ वर्षीय छोरा पनि घाइते भएका छन्। बालकको शरीरमा खुकुरी प्रहारबाट चोट लागेको भए पनि भक्तपुर अस्पतालमा उपचारपछि उनलाई डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।
हाल बालकलाई जिल्ला प्रहरी परिसर भक्तपुरको बालमैत्री कक्षमा राखिएको छ। घटनालगत्तै प्रहरीले आरोपित विदुर विश्वकर्मालाई पक्राउ गरेको छ।घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर भक्तपुरबाट प्रहरी उपरीक्षक (एसपी) सूर्यबहादुर खड्काको नेतृत्वमा अनुसन्धान अधिकृतसहितको टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनासम्बन्धी विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार घटना घरायसी विवादका कारण भएको देखिएको प्रहरीले बताएको छ।















