सामाजिक सञ्जालमा भाइरल कक्रोच जनता पार्टीले दिल्लीमा प्रदर्शन गर्ने

Image

सामाजिक सञ्जालमा चर्चित बनेको ‘कक्रोच जनता पार्टी’ ले भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ। पार्टीले आगामी शनिबार राजधानी नयाँ दिल्लीस्थित जन्तर मन्तरमा शान्तिपूर्ण प्रदर्शन आयोजना गर्ने जनाएको हो।

पार्टीले सामाजिक सञ्जाल एक्समार्फत प्रदर्शनमा सहभागी हुन आह्वान गर्दै देशभरका युवाहरूलाई आन्दोलनमा जोडिन आग्रह गरेको छ। प्रदर्शनको तयारीस्वरूप बुधबार पार्टीले आफ्नो पहिलो पत्रकार सम्मेलनसमेत आयोजना गरेको थियो।

पत्रकार सम्मेलनमा पार्टीले आफूहरूको उद्देश्य “भारतको राजनीतिक बहसको शैली परिवर्तन गर्नु” रहेको जनाएको छ। सामाजिक सञ्जालबाट सुरु भएको यो अभियानले पछिल्लो समय व्यापक चर्चा बटुलेको छ।

पार्टीका संस्थापक अभिजित दिपके, लद्दाखका सामाजिक अभियन्ता सोनाम वाङ्चुक तथा अन्य सदस्यहरू शनिबार दिल्लीमा भेला हुने र प्रदर्शनका लागि आवश्यक अनुमति माग्ने तयारीमा रहेको जनाइएको छ।

कक्रोच जनता पार्टीले स्नातक तहको राष्ट्रिय प्रवेश परीक्षा (निट) र केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सम्बन्धी विवादका कारण आन्दोलन गर्न लागेको जनाएको छ। पार्टीले शिक्षा क्षेत्रमा देखिएको अव्यवस्था र विवादका लागि नैतिक जिम्मेवारी लिँदै शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिनुपर्ने माग अघि सारेको छ।

यस अभियानले विभिन्न क्षेत्रका व्यक्तित्वहरूको समर्थनसमेत प्राप्त गर्न थालेको छ। सामाजिक अभियन्ता तथा शिक्षक सोनाम वाङ्चुकले केही दिनअघि अभियानमा सहभागी हुने घोषणा गरेका थिए। त्यस्तै भारतीय अभिनेता प्रकाश राजले पनि एक्समार्फत ‘कक्रोच आन्दोलन’ प्रति ऐक्यबद्धता जनाउँदै शनिबारको प्रदर्शनमा सहभागी हुने प्रयास गरिरहेको बताएका छन्।