लेबननी सशस्त्र समूह हेज्बुल्लाहले इजरायल र लेबनानबिच गरिएको युद्धविराम सम्झौतालाई अस्वीकार गरेको छ ।
यसअघि बुधबार अमेरिकाले हेज्बुल्लाहले आक्रमण बन्द गर्नुपर्ने सर्तमा इजरायल र लेबनन युद्धविराम लागु गर्न सहमत भएको बताएको थियो । तर त्यसलाई मान्न नसकिने हेजबुल्लाहले बताएको हो ।
हेजबुल्लाह प्रमुख नैम कासेमले विज्ञप्ति जारी गरी सम्झौता ‘बेकार’ र ‘लेबनानका लागि अपमानजनक’ भएको बताएका छन् । उनले लेबननी जनताको ठुलो हिस्साले पनि सम्झौता स्वीकार नगर्ने दाबी गरेका छन् ।
बिहीबार उनले भनेका छन्, ‘यस युद्धविरामअन्तर्गत हेज्बुल्लाहले गोलाबारी बन्द गर्नुपर्नेछ र इजरायली सीमा नजिकैको दक्षिणी क्षेत्रबाट आफ्ना लडाकु फिर्ता गर्नुपर्नेछ । वास्तवमा यो आत्मसमर्पण बराबर हो र यसले इजरायलको लक्ष्य पूरा हुनेछ ।’















