अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको करसम्बन्धी संशोधनलाई वैधानिकता दिन संसद् सचिवालयमा पठाएको पत्रको प्रक्रियामाथि गम्भीर प्रश्न उठेको छ। संसद्मा प्रस्तुत भइसकेको विधेयकमा सचिवालयमार्फत ‘त्रुटि सुधार’का नाममा परिवर्तन गर्न खोजिएको विषयले संसदीय अभ्यास र विधायिकी प्रक्रियामाथि नयाँ बहस सुरु गरेको छ।
अर्थ मन्त्रालयले आर्थिक विधेयकका केही व्यवस्था सच्याउन भन्दै जेठ १७ गते संसद् सचिवालयमा त्रुटि सुधारसम्बन्धी पत्र पठाएको थियो। तर संसद्मा टेबल भइसकेको विधेयकमा सचिवालयमार्फत संशोधन प्रस्ताव दर्ता गर्न नमिल्ने भन्दै सचिवालयका कर्मचारीहरूले उक्त पत्र दर्ता गर्न अस्वीकार गरेका थिए।
स्रोतका अनुसार आर्थिक विधेयकमा करका दर तथा नीतिसम्बन्धी केही फेरबदल गरिएको विषय सार्वजनिक भएपछि अर्थमन्त्री वाग्लेले उक्त पत्र दर्ता गराउन दबाब दिएका थिए। त्यसपछि संसद्का महासचिव पदमप्रसाद पाण्डेयको निर्देशनमा जेठ २० गते पत्र दर्ता गरिएको र आर्थिक विधेयकको अन्तिम भागमा समावेश गरी पुनः अपलोड गरिएको बताइएको छ।
संसदीय प्रक्रियाका जानकारहरूले संसद्मा टेबल भइसकेको विधेयकलाई सचिवालयमार्फत संशोधन गर्ने प्रयास संसदीय अभ्यासविपरीत भएको बताएका छन्। उनीहरूका अनुसार कुनै पनि विधेयकमा संशोधन गर्न संसद्को पूर्ण बैठक वा सम्बन्धित समितिमार्फत मात्रै प्रक्रिया अघि बढाउनुपर्ने संवैधानिक र संसदीय व्यवस्था छ।
संसद्मा दर्ता मात्र भएको तर टेबल नभइसकेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्न सकिने भए पनि टेबल भइसकेको आर्थिक विधेयकमा सचिवालयमार्फत परिवर्तन गर्न मिल्दैन । सरकारले आवश्यक ठानेमा संसद्मा सैद्धान्तिक वा दफावार छलफलका क्रममा औपचारिक रूपमा संशोधन प्रस्ताव दर्ता गरेर परिवर्तन गर्न सक्छ।
विवादको केन्द्रमा आर्थिक विधेयकमा समावेश कर तथा राजस्वसम्बन्धी व्यवस्थामा गरिएको परिवर्तन छ। संसद् सचिवालयमा दर्ता भएको ४६७ पृष्ठको आर्थिक विधेयक र पछि अर्थ मन्त्रालयको वेबसाइटमा अपलोड गरिएको ४५० पृष्ठको दस्तावेजबीच उल्लेखनीय भिन्नता देखिएको दाबी गरिएको छ।
अर्थमन्त्रीको ‘बहादुरी’ कि वित्तीय अपराध ?
विगतमा आर्थिक विधेयकमा लेखिएका विषय ढुङ्गाको अक्षर सरह हुन्थे । कुनै त्रुटि नै भए पनि त्यसलाई संसद्भित्रै औपचारिक संशोधन प्रस्ताव ल्याएर मात्रै सच्याउने परम्परा थियो । तर, वर्तमान अर्थमन्त्रीले संसदीय सर्वोच्चतालाई ठाडो चुनौती दिँदै संसद् बाहिरैबाट अनधिकृत रूपमा अनुसूचीहरू हेरफेर गरेर त्यसलाई आफ्नो ‘बहादुरी’ का रूपमा प्रस्तुत गरेपछि मन्त्रालयका पूर्वप्रशासकहरू समेत स्तब्ध भएका छन् ।
अर्थमन्त्रीको प्रत्यक्ष संरक्षण बिना मन्त्रालयका कर्मचारीले मात्रै नीतिगत तहमा यति ठूलो थपघट गर्न सक्दैनन् ।
अर्थ मन्त्रालयले वेबसाइटमा राखेको विधेयकमा सामान्य लिपिकीय गल्ती मात्र नभई निश्चित व्यापारिक समूह वा व्यक्तिलाई लाभ पुग्ने गरी नीति र दरहरू नै बद्लेको देखिन्छ ।
| क्र.सं. | क्षेत्र / विषय | संसद्मा दर्ता भएको मूल विधेयक | अर्थ मन्त्रालयको वेबसाइटको विधेयक | प्रत्यक्ष फाइदा / प्रभाव |
| १ | विद्युतमा भ्याट (VAT) छुट | प्रतिग्राहक मासिक ५० युनिटसम्म खपत गर्ने घरायसी ग्राहकलाई मात्र भ्याट छुट। | ‘विद्युत् शक्तिको कारोबार गर्ने व्यवसायबाट अर्को व्यवसायलाई गरिने बिक्री’ मा पनि भ्याट छुट थपियो। | अब विद्युत उत्पादकले प्राधिकरणलाई बिजुली बेच्दा भ्याट नलाग्ने गरी निजी प्रवर्द्धकलाई फाइदा। |
| २ | सिनेमा हललाई आयकर छुट | उपमहानगर र महानगर बाहेकका क्षेत्रमा सिनेमा हल खोल्दा आयकर छुट दिने कुनै व्यवस्था थिएन। | ‘व्यावसायिक कारोबार सुरु गरेको १० वर्षसम्म आयकर पूर्ण छुट’ हुने बुँदा लुकिछिपी थपियो। | काठमाडौँ उपत्यकाकै भक्तपुर वा बुढानीलकण्ठ जस्ता नगरपालिकामा हल खोल्ने व्यक्ति विशेषलाई लाभ। |
| ३ | सन्ततिको शिक्षण शुल्क | प्राकृतिक व्यक्ति (अभिभावक) ले छोराछोरीको शिक्षण शुल्क तिर्दा करयोग्य आयबाट घटाउन पाउने व्यवस्था थिएन। | ‘शिक्षण शुल्कको २५% वा २५ हजार रुपैयाँ (जुन घटी हुन्छ) करयोग्य आयबाट घटाउन पाउने’ नयाँ उपदफा थपियो। | मध्यमवर्गलाई रिझाउन संसद् बाहिरैबाट ऐन संशोधन। |
| ४ | सुटकेस तथा ब्रिफकेस भन्सार | ब्रिफकेस, वालेट तथा सुटकेसको भन्सार दर १५ प्रतिशत उल्लेख थियो। | भ्याक्सिन र ब्लड क्यारियरबाहेकका अन्य सबै सुटकेस, वालेट र ब्रिफकेसको भन्सार दर ३० प्रतिशत पुर्याइयो। | संसद्लाई छलेर भन्सार दर शतप्रतिशत वृद्धि। |
| ५ | विद्युतीय सवारी (EV) सडक दस्तुर | सबै किसिमका विद्युतीय सवारीसाधनमा ५ प्रतिशतका दरले सडक निर्माण दस्तुर लिने व्यवस्था थियो। | पैठारी मूल्य २० लाख रुपैयाँसम्म भएका निश्चित कोडका इभीमा दस्तुर घटाएर २.५ प्रतिशत मात्र कायम गरियो। | निश्चित मोटर गाडी आयातकर्तालाई फाइदा पुग्ने गरी बीचैमा नीति परिवर्तन। |
| ६ | स्वच्छ पूर्वाधार लगानी शुल्क | भन्सार विन्दुमा अन्तःशुल्क तिरिसकेका इभीलाई यो शुल्कमा छुट दिने कुनै व्यवस्था थिएन। | ‘भन्सार विन्दुमा अन्तःशुल्क भुक्तानी गरिसकेका सवारीमा स्वच्छ पूर्वाधार शुल्क लाग्नेछैन’ भनी बुँदा थपियो। | आयातकर्ताहरूलाई अतिरिक्त आर्थिक लाभ। |
आर्थिक विधेयक गुपचुप सच्याउनु पूर्णतः गैरकानुनी हो । संसद् सचिवालयका अनुसार बजेट आश्रित विधेयकहरू (आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक) पारित गर्ने र संशोधन गर्ने एउटा निश्चित संवैधानिक प्रक्रिया रहेको छ। विधेयकमा सैद्धान्तिक छलफल भएपछि सांसदहरूलाई संशोधन हाल्न ७२ घण्टाको समय दिइन्छ।
यदि सरकार वा सांसद कसैले पनि केही सच्याउनुपर्ने ठानेमा त्यही समयमा संशोधन प्रस्ताव दर्ता गर्नुपर्छ र सभामा छलफल भएर मात्रै त्यो पारित हुन्छ ।
प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवै सदनबाट विधिवत् रूपमा पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मात्रै विधेयकले ऐनको रूप लिने र कार्यान्वयनमा आउने हुनाले बीचैमा मन्त्रालयले यसको अक्षर फेर्नु व्यवस्थापिकाको अधिकारमाथिको ठाडो हस्तक्षेप मानिन्छ।















