हराएको सिमकार्ड प्रयोग गरी २४ लाखभन्दा बढी ठगी, दुई जना पक्राउ

Image

सर्वसाधारणको हराएको सिमकार्डको दुरुपयोग गरी मोबाइल बैंकिङमार्फत लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बुधबार उनीहरूलाई छुट्टाछुट्टै स्थानबाट नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा सिन्धुलीको फिक्कल गाउँपालिका–४ घर भई हाल भक्तपुरको सिर्जनानगर बस्ने २६ वर्षीय रोशन पहाडी र डडेल्धुराको अमरगढी नगरपालिका–८ घर भई हाल ललितपुरको कुपण्डोल बस्ने २५ वर्षीय सुभाष ओझा रहेका छन्। प्रहरीका अनुसार पहाडीलाई भक्तपुरको सल्लाघारीबाट र ओझालाई ललितपुरको एकान्तकुनाबाट पक्राउ गरिएको हो।

प्रहरी अनुसन्धान अनुसार पीडित कान्छी लामाको नाममा वि.सं. २०७० असोज २ गते जारी भएको सिमकार्ड उनले तत्कालीन नेपाल क्रेडिट एण्ड कमर्स बैंक (हाल कुमारी बैंक) मा खाता खोल्दा मोबाइल बैंकिङ सेवामा प्रयोग गरेकी थिइन्। पछि करिब ६ वर्षपछि उक्त सिमकार्ड हराएको थियो।हराएको सोही नम्बर वि.सं. २०७८ चैत १२ गते रोशन पहाडीको नाममा पुनः जारी भएको देखिएको प्रहरीले जनाएको छ। सिमकार्ड सक्रिय भएपछि पीडितको बैंक खातामा आउने एसएमएस सूचना पहाडीको मोबाइलमा आउन थालेका थिए।

त्यसपछि आरोपितहरूले सोही नम्बर प्रयोग गरी कुमारी बैंकको मोबाइल बैंकिङ सेवा सञ्चालन गरेको र विभिन्न व्यक्तिहरूलाई झुक्यानमा पारी ई–सेवा, खल्ती तथा अन्य बैंक खातामार्फत रकम ट्रान्सफर गराई रकम झिक्ने गरेको खुलेको छ।प्रहरीका अनुसार उनीहरूले वि.सं. २०८० असार २० गतेदेखि २०८२ असोज ९ गतेसम्मको अवधिमा मोबाइल बैंकिङको दुरुपयोग गरी २४ लाख ४७ हजार ५२८ रुपैयाँ विभिन्न बैंक तथा डिजिटल वालेटमा पठाएर हिनामिना गरेका छन्।

पीडित कान्छी लामाले दिएको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक शरत कुमार थापा क्षेत्रीले जानकारी दिएका छन्।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।