विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा उल्लेख्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको चालू आर्थिक वर्षको १० महिनामा आधारित देशको आर्थिक तथा वित्तीय स्थितिको तथ्यांकले यस्तो देखाएको हो ।
उक्त तथ्यांक अनुसार चालू आवको साउनदेखि वैशाखसम्म रेमिट्यान्स आप्रवाह ४१.२ प्रतिशतले वृद्धि भई १९ खर्ब १६ अर्ब ९० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १३.३ प्रतिशतले बढेको थियो ।
२०८३ वैशाख महिनामा विप्रेषण आप्रवाह २ खर्ब ५७ अर्ब ४९ करोड रहको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह एव खर्ब ६५ अर्ब ३० करोड रहेको थियो ।
यस अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३३.० प्रतिशतले वृद्धि भई १३ अर्ब २६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.६ प्रतिशतले बढेको थियो ।
चालू आवको दश महिनामा खुद द्वितीय आय (खुद ट्रान्सफर) २० खर्ब ९१ अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १४ खर्ब ८० अर्ब २८ करोड रहेको थियो ।
यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ३ लाख ३५ हजार ५१० र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख २६ हजार ३६४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ४ लाख ५ हजार ६१० र २ लाख ८० हजार ३१४ रहेको थियो ।















