बहराइनस्थित अमेरिकी राडारमा ६ ड्रोनबाट आक्रमण गरेको इरानको दाबी

Image

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)ले बहराइनको रिफा एयर बेसस्थित अमेरिकी हवाई रक्षा प्रणालीको राडारमा ६ ड्रोनबाट आक्रमण गरेको दाबी गरेको छ । सरकारी समाचार संस्था फार्स न्युज एजेन्सीले उक्त जानकारी दिएको हो ।

बहराइनको आन्तरिक मन्त्रालयले यसअघि सम्भावित सुरक्षा खतराबारे पटक–पटक चेतावनी जारी गर्दै नागरिकलाई सुरक्षित आश्रयस्थलमा जान आग्रह गरेको थियो ।

फार्समा प्रकाशित विज्ञप्तिमा आईआरजीसीले जहाजको सुरक्षा गर्ने अमेरिकी प्रयास असफल भएको र होर्मुज जलमार्ग अझै बन्द रहेको दाबी गरेको छ । अमेरिकाले थप आक्रामक कदम चाले त्यसको कठोर र विनाशकारी जवाफ दिने चेतावनी समेत उसले दिएको छ । अमेरिकी सेनाले पछिल्लो आक्रमणको दाबीबारे प्रतिक्रिया जनाएको छैन ।

शुक्रबार पनि आईआरजीसीले बहराइनस्थित अमेरिकी ‘अर्ली वार्निङ राडार’ केन्द्रमा आक्रमण गरी लक्ष्य ध्वस्त पारेको दाबी गरेको थियो । तर, अमेरिकी सेनाको क्षेत्रीय कमान्ड सेन्ट्रल कमान्ड (सेन्टकम)ले उक्त दाबी अस्वीकार गर्दै इरानका दुई ड्रोन खसालिएको र कुनै मानवीय वा भौतिक क्षति नभएको जनाएको थियो । 

यसैबीच, इरानले अमेरिका र इजरायलबाट हुने कुनै पनि नयाँ आक्रमणको तत्काल र निर्णायक जवाफ दिने चेतावनी संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्लाई दिएको छ । साथै, बहराइनसहितका खाडी राष्ट्रहरूले अमेरिकी सैन्य कारबाहीमा सहयोग गरेको आरोप लगाएको छ ।

बहराइनले भने खाडी मुलुकमाथि भइरहेका इरानी आक्रमणको निन्दा गर्दै तत्काल रोक्न माग गरेको छ ।

बहराइनमा साइरन, नागरिकलाई सुरक्षित रहन आग्रह
आईआरजीसीको आक्रमणको दाबी सार्वजनिक भएपछि बहराइनको आन्तरिक मन्त्रालयले नागरिकलाई शान्त रहन र नजिकैको सुरक्षित स्थानमा जान आग्रह गरेको थियो । यसक्रममा देशका विभिन्न क्षेत्रमा साइरन बजाइएको थियो ।

राजधानी मनामामा करिब तीन घण्टाको अन्तरालमा दुई सुरक्षा चेतावनी जारी गरिएको थियो । पहिलो चेतावनी बिहान ४ः३० बजे जारी गरिएको थियो । मन्त्रालयले सम्भावित खतराबारे सचेत गराउँदै नागरिकलाई सतर्क रहन आग्रह गरेको थियो ।

तर, बहराइनका सुरक्षा चेतावनी र आईआरजीसीको पछिल्लो आक्रमणको दाबीबीच प्रत्यक्ष सम्बन्ध रहेको आधिकारिक पुष्टि भएको छैन । सेन्टकमले पनि पछिल्लो घटनाबारे कुनै औपचारिक विवरण सार्वजनिक गरेको छैन ।