साउदी अरेबियाको तेल ट्यांकरमाथि मिसाइल आक्रमण गरेको यमनका हुथीहरूको दाबी

Image

यमनको इरान–समर्थित हुथी समूहले साउदी अरेबियाको एउटा तेल ट्यांकरमाथि ब्यालिस्टिक मिसाइल प्रहार गरेको दाबी गरेको छ । लाल सागरमा साउदी जहाजहरूमाथि समुद्री नाकाबन्दी घोषणा गरेको एक साताभन्दा बढी समयपछि मिसाइल प्रहार गरेको दाबी गरेको हो ।

सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै हुथी समूहका सैन्य प्रवक्ता याह्या सारेले साउदी तेल ट्यांकर ‘एनसीसी गजाल’ले समूहले लगाएको समुद्री आवतजावत प्रतिबन्ध उल्लंघन गरेको भन्दै त्यसलाई निुाना बनाएर सैन्य कारबाही गरिएको बताएका छन् ।

उनले उक्त आक्रमणमा धेरै ब्यालिस्टिक मिसाइल प्रयोग गरेको बताए । त्यसपछि जहाजलाई आफ्नो मार्ग परिवर्तन गरी पछि हट्न बाध्य पारेको दाबी गरेका छन् ।

यसैबीच, समुद्री सुरक्षा अनुगमन निकाय यूके म्यारिटाइम ट्रेड अपरेसन्सले लाल सागर पार गरिरहेको एउटा ट्यांकरमा विस्फोट भएको जानकारी प्राप्त भएको जनाएको छ । यूके म्यारिटाइम ट्रेड अपरेसन्सले जहाजका सबै चालक दलका सदस्य सुरक्षित छन् । घटनाबाट कुनै वातावरणीय क्षति नभएको जनाएको छ ।

हुथीहरूले सन् २०१४ मा यमनको राजधानी साना कब्जा गरेका थिए । त्यसयता उनीहरू साउदी अरेबियाको समर्थन रहेको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त येमेनी सरकारविरुद्ध एक दशकभन्दा बढी समयदेखि युद्धरत छन् ।

गत जुलाई २० मा हुथीहरूले साउदी नेतृत्वमाथि करिब १२ वर्षदेखि यमेनमाथि अन्यायपूर्ण र दमनकारी घेराबन्दी लगाएको, देशका स्रोतसाधन लुटेको र पूर्ण नाकाबन्दी लागु गरेको आरोप लगाउँदै आफ्नै समुद्री नाकाबन्दीको घोषणा गरेका थिए ।