भारतीय प्रहरीको फरार सूचीमा रहेका युवक विराटनगरको होटलमा मृत भेटिए

Image

भारतीय प्रहरीको फरार सूचीमा रहेका एक भारतीय नागरिक विराटनगरको एक होटलमा मृत भेटिएका छन्। घटनासँग सम्बन्धित चार भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।

मृतक भारतको बिहार राज्यस्थित सहरसा निवासी २४ वर्षीय प्रिन्स आनन्द (यादव) रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालका अनुसार आनन्द भारतीय प्रहरीको खोजी सूचीमा रहेका व्यक्ति थिए।

प्रहरीका अनुसार आनन्द विराटनगर महानगरपालिका–१० स्थित शुभ होटलमा बस्दै आएका थिए। शनिबार राति होटलमै अचानक बिरामी परेपछि उनका साथीहरू र अस्पतालका सुरक्षाकर्मीको सहयोगमा उनलाई न्युरो अस्पताल पुर्‍याइएको थियो। तर उपचारका क्रममा राति ११ः१० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

अनुसन्धानका क्रममा आनन्द गत जेठ २० गते विराटनगर बसपार्क अगाडि रहेको मेट्रोसिटी होटलमा बसेको र दुई दिनपछि साथीहरूसँग शुभ होटलको कोठा नम्बर १०२ मा सरेर बसेको खुलेको प्रहरीले जनाएको छ।

उनीसँगै रहेका भारतका सहरसा निवासी २५ वर्षीय अंकितकुमार यादव, सुपौल निवासी २७ वर्षीय रोशन यादव, २१ वर्षीय लल्टु यादव र ३० वर्षीय जयराम यादवलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ। घटनाका बेला सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ निवासी तथा मृतकका नातेदार ३० वर्षीय तीर्थकुमार यादव पनि उनीहरूसँगै रहेको र उनले नै अस्पताल पुर्‍याउन सहयोग गरेको खुलेको एसपी कटुवालले बताए।

प्रहरीका अनुसार प्रिन्स आनन्द भारतको पटना, बिहारस्थित ज्ञान विन्दु र खान सर एकेडेमीबीच भएको विवादका कारण भारतीय प्रहरीको खोजी सूचीमा थिए। दुई संस्थाबीचको विवादका क्रममा ज्ञान विन्दुका सञ्चालक र विद्यार्थीहरूले खान सर एकेडेमीमा ढुंगामुढा गरेको आरोप लागेको थियो। सोही घटनासम्बन्धी उजुरीका आधारमा खान सरले रोशन आनन्द र उनका भाइ प्रिन्स आनन्दविरुद्ध जाहेरी दिएका थिए।

त्यसपछि प्रिन्स आनन्द साथीहरूसँग घुम्न नेपाल आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। यद्यपि उनको मृत्युको कारणबारे हालसम्म केही खुलाइएको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।