बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ।संघीय संसद् सचिवालयले बुधबार सूचना जारी गर्दै बिहीबार बिहान ११ बजे बस्ने तय भएको बैठक विशेष कारणवश सञ्चालन हुन नसक्ने जनाएको हो।
संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेद्वारा जारी सूचनाअनुसार प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सभामुख डोलप्रसाद अर्यालले बैठक असार १२ गते शुक्रबार दिउँसो १ बजे बस्ने गरी निर्धारण गरेका छन्।
सचिवालयले बैठक स्थगित हुनुको औपचारिक कारण ‘विशेष कारण’ उल्लेख गरे पनि चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन लम्बिएका कारण बैठक सारिएको बताइएको छ।
रास्वपाको प्रथम महाधिवेशनमा पार्टी नेतृत्व चयनलगायतका महत्वपूर्ण कार्यक्रम जारी रहेकाले सो प्रक्रिया सम्पन्न हुन समय लागेपछि प्रतिनिधिसभा बैठकको कार्यतालिका प्रभावित भएको हो।
अब प्रतिनिधिसभा बैठक शुक्रबार दिउँसो १ बजे बस्नेछ, जहाँ तय कार्यसूचीमाथि छलफल तथा अन्य संसदीय गतिविधि अघि बढाइने अपेक्षा गरिएको छ।















