कोशी प्रदेश सरकारले प्रदेशसभा सदस्यका स्वकीय सचिवहरूको रोकिएको पारिश्रमिक नियमित रूपमा उपलब्ध गराउने निर्णय गरेको छ।सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले स्वकीय सचिवहरूको पारिश्रमिक रोकिएको मितिदेखि नै नियमित रूपमा दिने निर्णय गरेको हो। जेनजी आन्दोलनपछि स्वकीय सचिवहरूको पारिश्रमिक रोकिएको थियो।
मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगको रिक्त सदस्य पदमा सुनसरीको बराहक्षेत्र नगरपालिका–२ निवासी अनिल थापालाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।यस्तै, प्रदेश खेलकुद पहिलो संशोधन अध्यादेश–२०८३ लाई प्रतिस्थापन गर्न बनेको विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गरिएको छ।
बैठकले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७८ संशोधन गर्न बनेको विधेयकलाई पनि स्वीकृत गर्ने निर्णय गरेको प्रदेश सरकारले जनाएको छ।















